दाऊद इब्राहिमको मृत्यु भएको दाबी, उपचारकै क्रममा विष दिईएको आशंका

काठमाडौं– अन्डर्वल्ड डन दाऊद इब्राहिमको मृत्यु भएको भारतीय मिडियाले दाबी गरेका छन्। भारतीय अखबार अमर उजालाले आफ्नो अनलाइन संस्करणमा ‘पाकिस्तानको एक अस्पतालमा उपचारका क्रममा दाऊदलाई विष दिइएपछि उनको मृत्यु भएको’ उल्लेख गरेको छ।

विष दिइएपछि दाऊदको मृत्यु भएको हुनसक्ने खबर भारतीय टीभी च्यानल एबीपी लाइभले पनि लेखेको छ। दाऊदका आफन्तलाई घरमै नजरबन्द गरिएको पनि समाचारमा उल्लेख छ। यो घटनाबारे पाकिस्तानका तर्फबाट कुनै आधिकारिक सूचना बाहिर आएको छैन।

दाऊदलाई राखिएको भनिएको अस्पताल र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन्। सुरुमा पाकिस्तानी प्रधानमन्त्रीले नै दाऊदको मृत्यु पुष्टि गरेको भन्दै सोसल मिडियामा एउटा ट्वीट भाइरल बनेको थियो।

उक्न पोस्टको आधिकारिता पुष्टि हुन भने सकेको छैन। दाऊदको मृत्यु भएको खबर सोसल मिडियामा फैलिएपछि पाकिस्तानमा इन्टरनेट डाउन भएको छ। पाकिस्तानी पत्रकार आर्जू काजमीले एक भिडियोमा भनेकी छन्, ‘मुख्य घटना लुकाउन पाकिस्तानमा देशभर युट्युब, फेसबुक, गुगललगायत प्लेटफर्ममा हस्तक्षेप गरिएको छ ।’

उनले पनि दाऊदको उपचार कराचीस्थित अस्पतालमा गम्भीर अवस्थामा भइरहेको बताएकी छन्। दाऊद भारतका मोस्ट वान्टेड अपराधीहरूको सूचीमा शीर्ष स्थानमा छन्।

उनलाई शुक्रबार गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । उनलाई परिवारका निकट र विशेष मानिसहरू मात्र भेट्न जान पाउँथे। उपचारका क्रममा नै उनलाई विष दिइएको खबर छ।

पाकिस्तानको कराची विमानस्थलमा दाऊद र उनका निकटहरूको नियन्त्रण रहेको बताइन्छ। भारतीय मिडियाका अनुसार, अनगिन्ती अपराध गरिसकेका दाऊद इब्राहिम सन् १९९३ मा मुम्बईमा भएको श्रृंखलाबद्ध बम विस्फोटका योजनाकार थिए।

सन् २००८ मा मुम्बईमा भएको आतंकवादी आक्रमणमा पनि दाऊदको संलग्नताको आशंका गर्ने गरिएको छ। सन् २०१० मा दाऊदले महाराष्ट्रको अर्को शहर पुनेलाई पनि निशाना बनाए। दाऊद पुने जर्मन बेकरी विस्फोटका पनि आरोपी हुन्।

तीन वर्षपछि दाऊदले क्रिकेटलाई समेत निशाना बनाएका थिए। सन् २०१३ मा आईपीएल स्पट फिक्सिङ काण्डमा पनि दाऊदमाथि नै आरोप लागेको थियो। यसबाहेक अन्तर्राष्ट्रिय ड्रग तस्करी, नक्कली नोट, हतियारको तस्करीमा पनि दाऊदमाथि गम्भीर आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट