भुकम्पमा कारागार भत्किँदा फरार भएका कैदी ९ वर्षपछि पक्राउ
काठमाडौं- ०७२ सालको भूकम्पका बेला भत्किएको सिन्धुपाल्चोक कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ९ वर्षपछि मंगलबार पक्राउ गरेको छ।
साइबर ब्यूरो कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको साविक ठूलोपाखर गाविस ३ बस्ने ४२ वर्षिय काले वाङगेल भन्ने निमा लामालाई कास्कीको विजयपुरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार ०७१ वैशाख २८ गते राति सिन्धुपाल्चोक ठूलोपाखर गाविस २ बस्ने वर्ष ४३ की कालीमाया लामालाई निमासहितका ब्यक्तिहरूले कुटपिट गरी पटुकाले घाटी कसी चिलाउनेको रूखमा झुण्डयाएर हत्या गरेका थिए।
यो मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले ०७१ चैत १७ गते निमालाई २० वर्ष कैद सजाय गरेको थियो। उनी सिन्धुपाल्चोक कारगारमा सजाय भोगिरहेका वेला ०७२ वैशाख १२ गतेको भूकम्पमा भत्किएको कारागारबाट भागेका थिए।
उनले अन्य थुनुवा कैदीलाई समेत भगाएको प्रहरीको आरोप थियो। सिन्धुपाल्चोक जिल्ला अदालतले थुनुवा कैदी भगाएको कसुरमा ०७४ फागुन ९ गते थप ९ वर्ष ६ महिना २० दिन कैद हुने सजाय सुनाएको छ।
जम्मा २९ वर्ष ६ महिना २० दिन कैद असुल गर्नु पर्ने निमालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बैंकिङ कसूर मुद्दामा कैद तथा जरिवाना वेरुजू रही फरार रहेका पर्वतको कुश्मा नगरपालिका १० घर भई हाल सुन व्यवसाय गर्दै आएका सरोज खाती र स्याङ्जाको आधिखोला गाउँपालिका ३ घर भई काठमाडौ चक्रपथस्थित सूर्य चन्द्र ज्वेलरी सेन्टर सञ्चालन गर्दै आएका ६१ वर्षिय भीमबहादुर विश्वकर्मालाई पनि पक्राउ गरेको छ।