बालकुमारी घट्नाः मन्त्री ज्वालाले सुरक्षाकर्मीलाई ‘मुटु नभएका’ भन्दै जवर्जस्ती लगेका थिए गाडी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्रीबाट हटाउने तयारी सुरु गरेका छन्। बालकुमारी घटनामा विवादमा परेपछि दाहालले ज्वालालाई हटाउने तयारी गरेका हुन।

यसका लागि दाहालले सरकारबाट फिर्ता बोलाउन उनको दल नेकपा (एकीकृत समाजवादी)लाई आग्रह समेत गरेका छन्। प्रधानमन्त्री दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन गरी मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाइदिन आग्रह गरेको स्रोतको दाबी छ।

‘भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा पर्नुभयो, उहाँलाई सरकारबाट फिर्ता बोलाउँदा राम्रो होला,’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै नेपालनिकट स्रोतले भन्यो।

रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रआसपास शुक्रबार (१३ पुस)मा गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो। दैलेखका २३ वर्षीय सुजन रावत प्रहरीको कुटाइबाट मारिए भने अछामका २२ वर्षीय वीरेन्द्र शाहको गोली लागेर मृत्यु भयो।

यसमा भौतिक योजना तथा यातायातमन्त्री ज्वाला पनि जिम्मेवार देखिएपछि प्रधानमन्त्रीले उनलाई सरकारबाट फिर्ता बोलाउन अध्यक्ष नेपालसमक्ष आग्रह गरेका हुन्। युवाहरुको प्रदर्शन चलिरहेका वेला मन्त्री ज्वाला झन्डावाला गाडीसहित प्रदर्शन क्षेत्र बालकुमारी पुगेका थिए।

कोटेश्वर जाने क्रममा रहेका ज्वालाको गाडी प्रदर्शनकारीले रोकेर आगजनी गरे। त्यसपछि प्रहरीले हस्तक्षेप गर्दा दुई जना मारिएको सुरक्षा स्रोतले जनाएको छ। बालकुमारी घटनापछि मन्त्री ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै पछिल्लो दिनहरुमा दिनहुँ विरोध प्रदर्शन भइरहेको छ।

स्रोतका अनुसार उक्त घट्ना हुनुमा मन्त्री ज्वालाको गम्भीर सुरक्षा चुनौती अस्वीकार मुख्य कारण रहेको पाइएको छ। मन्त्रीले आफ्ना सुरक्षाकर्मीको सुझाव नमानी बलमिच्याइँ गर्दा बालकुमारीमा उनको गाडी मात्र जलेन, दुई जनाले अनाहकमा ज्यान गएको स्रोतको दावी छ।

ललितपुरको कान्तिपुर पार्टी प्यालेस चलिरहेको वैठक छोडेर निस्केका उनले पहिला गाडीमा बसेपछि पीएसओलाई बाटोको अवस्था कस्तो छ भनेर बुझ्न लगाएका थिए। पीएसओले कान्तिपुरबाट बाहिर सडकमा निस्कने मुख्य सडक असुरक्षित भएकाले अर्को बाटो जानुपर्ने जानकारी गराए । तर, मन्त्री ज्वालाले नै जबर्जस्ती त्यही बाटो बाहिर निस्कन दबाब दिएको सुरक्षा स्रोतको दावी छ।

मन्त्री ज्वालाले ‘हतियारधारी दुई जना भएर पनि मुटु छैन? मुटु हुनुपर्छ’ भन्दै गाडी निकाल्न आदेश दिएको सुरक्षा स्रोत वताउँछ। मन्त्रीका लागि दुई जना सुरक्षाकर्मी अंगरक्षक दिइएको हुन्छ। एक जना नेपाली सेनाको र अर्को प्रहरीका सई व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) हुन्छन्। मन्त्री ज्वालाले यी दुवै सुरक्षाकर्मीलाई मुटु नभएको भन्दै अघि बढाउन निर्देशन दिएका थिए। ज्वालाका पीएसओ सई बोधराज दनुवारलाई यो घटनापछि सरकारले निलम्बन गरिसकेको छ।

त्यहाँ खटिएका डीएसपी र ईपीएस शाखाका प्रमुखलाई पनि निलम्बन गरिएको छ भने ललितपुरका सीडीओ र ललितपुर प्रहरी परिसरका एसएसपीको जिम्मेवारी खोसिएको छ। सुरक्षा निकायमो रिपोर्टिङपछि नेपाल प्रहरीका प्रमुख बसन्तबहादुर कुँवरले पनि त्यस वेला मन्त्री नपुगिदिएको भए मानविय क्षती हुने अवस्था आउँदैनथ्यो भन्दै स्पस्ष्टिकरण दिएपछि ज्वाला चेपुवामा परेका हुन।

तर, मन्त्री ज्वाला भने आफूले सुरक्षाकर्मीलाई दबाब नदिएको मात्र होईन, सुरक्षाकर्मीले आफुलाई बाटोमा अवरोध छ भन्ने जानकारी नै नगराएको दाबी गर्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट