सहकारीको डेढ अर्व मासेर फरार भएका जीबी राई मलेसिया पुगेको आशंका

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको झण्डै डेढ अर्व रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पूर्जी जारी भएका मुख्य आरोपी ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–१ का ४५ वर्षीय गितेन्द्र बाबु राई (जीबी) मलेसिया पुगेको प्रहरीले आशंका गरेको छ।

६ महिनाअघिदेखि नै प्रहरीको फरार सूचीमा रहेका उनी कहिले पोखरा महानगरपालिका–१७ घारीपाटन त कहिले काठमाडौंको धापासी बस्दै आएका थिए। सहकारीको संस्थापक अध्यक्ष रहेका उनी अहिले भने लुकेर बसेका छन्।

जीबी राई ग्यालेक्सी टेलिभिजनका सञ्चालक हुन। उनले रवि लामिछानेसँग मिलेर टेलिभिजन खोलेका थिए। जिल्ला प्रहरी कार्यालय पोखरा स्रोतका अनुसार राईले सहकारीको रकमबाट रुपन्देहीमा ४० बिघा जग्गा खरिद गरेको देखिएको छ भने ललितपुर, भक्तपुर र काठमाडौंमा समेत उनले करोडौं पर्ने जग्गा खरिद गरेको पाईएको छ।

उनको नाममा रहेको खुलेका सवै जग्गा प्रहरीले किनबेच नहुने गरी रोक्का गरेको छ भने खोजीका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई समेत पत्राचार गरेको छ। तर, उनी नेपाल छोडेर विदेश भागेको आशंका गरिएको छ।

सोही आशंकापछि कास्की प्रहरीले राईसहित पक्राउपुर्जी जारी गरिएका १९ जना आरोपीलाई विदेशबाट फिर्ता गराउन प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गराउन प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंलाई पत्राचार गरेको छ।

सीआईबी उच्च स्रोतका अनुसार जीबी राई भागेर मलेसिया पुगेका छन्। उनले सूर्यदर्शन बाहेक अन्य सहकारी मार्फत समेत ठूलो रकम हिनामिना गरेको खुलेको छ। सुर्यदर्शनको रकम हिनामिना प्रकरणमा १९ जना बहालवाला तथा पूर्वसञ्चालक मध्ये सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र पूर्वउपाध्यक्ष कैलाश दर्लामी पुर्पक्षका लागि थुनामा पुगेका छन्।

दर्लामी रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ का वडाध्यक्ष समेत हुन्। उनले सहकारीबाट स्थानीय चुनावअघि नै राजीनामा दिइसकेका थिए। तर, सहकारीले उनको राजीनामा सहकारी रजिस्टार कार्यालय ‘फरवार्ड’ नगर्दा उनी समेत थुनामा पुग्नु परेको बताइएको छ। सहकारीबाट दर्लामीले व्यक्तिगत कुनै ‘लोन’ भने लिएको देखिएको छैन।

थुनामा रहेका पोखरा मादी गाउँपालिका–१० का ३९ वर्षीय शिवबहादुर गुरुङ र स्याङ्जाको गल्याङ–९ का ४२ वर्षीय भविश्वर अर्यालविरुद्ध अदालती प्रक्रिया जारी छ। उनीहरू दुई दिन अघिमात्रै प्रहरीको सम्पर्कमा पुगेका थिए। गुरुङ सहकारी सञ्चालक समितिका पूर्वसदस्य र अर्याल वर्तमान सदस्य हुन्।

पोखरा महानगरपालिका–४ मा सञ्चालनमा रहेको सहकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको जाहेरी परेपछि सञ्चालकविरुद्ध अनुसन्धान गर्न पहिलो पटक २४ साउनमा पक्राउपुर्जी जारी भएको थियो। दोस्रो पटक २ र ७ असोजमा गरेर १९ जनाविरुद्ध पक्राउपुर्जी जारी भएको छ।

रकम फिर्ता नपाएको भन्दै सूर्यदर्शन सहकारीका १८ हजार वचतकर्ता मध्ये १ हजार ३५ जनाले जाहेरी दिएका थिए। कुल १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको देखिएको छ। हिनामिना गरिएको रकम सस्थापक अध्यक्ष जीबी राईले टेलिभिजन सञ्चान गर्न तथा अन्य प्रयोजनका लागि खर्च गरेको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट