त्रियुगा नदीको सिवाई– वेल्ही जोड्ने पुल पूनः निर्माण थाल्न मन्त्रीलाई ज्ञापन पत्र
राजविराज— उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित सिवाई– वेल्ही जोड्ने निर्माणाधीन मोटरवेल पुलको काम तत्काल सुरु गर्न जनप्रतिनिधिहरुले माग गरेका छन्।
बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर ज्ञापन–पत्र बुझाउँदै चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिहरुले पुल निर्माणको काम तत्काल थाल्न माग गरेका हुन।
०६६ सालमा पुल निर्माण थालिएपनि ०७८ असार १९ गते आएको बाढीले निर्माणाधीन पुल भत्काएको थियो। ३ सय ७ मिटर लम्बाई रहेको १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाईपट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भाँँसिएपछि पुल दुई टुक्रा भएको छ।
१२ वर्षमा तयारी हुने अवस्थामा तीन वटा स्पान भाँचिएपछि राज्यले वास्तै नगरेको स्थानीयले गुनासो गरेका छन्। यो पुल खोटाङ, भोजपुर जोड्ने बेल्टार बजार र सप्तरीको फत्तेपुर बजार केन्द्रित पुल हो।
यो पुल अब पनि पुल नबन्ने अवस्था रहिरहे आफूहरु विभाग र मन्त्रालयमा धर्ना दिनसमेत तयार रहेको जनप्रतिनिधिले वताएका छन्। नेपाली कांग्रेसको उदयपुर क्षेत्र नं. १ का सभापति खगेन्द्र राईले पुल नबन्दा स्थानीयबासीलाई सास्ती भएको बताए।
ज्ञापन–पत्र बुझ्दै मन्त्री ज्वालाले पुल निर्माण कार्यमा केही ढिला भएपनि आफूले समाधान निकाल्ने गरी अघि बढेको बताएका थिए।