विराटनगरमा सुत्केरीको मृत्यु भएपछि मिर्चैया अस्पतालमा प्रदर्शन, कम्पाउण्डरले उपचार गरेको आरोप

लहान– सिरहाको मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया सुत्केरीको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले मिर्चैयाकै ‘मिर्चैया अस्पताल’ विरुद्ध प्रदर्शन गरेका छन्।

मिर्चैया अस्पतालको लापर्वाहीका कारण सुत्केरीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ। अत्याधिक रक्तश्राव हुँदा पनि चिकित्सकले ध्यान नदिएको र कम्पाउण्डरले उपचार गर्दा सुत्केरीको मृत्यु भएको बताएका छन्।

जानकारी अनुसार २६ वर्षिय अल्का साहलाई सुत्केरी ब्यथा लागेपछि बुधबार मिर्चैया अस्पतालमा भर्ना गरिएको थियो। उनको नर्मल डेलीभरी भयो। छोरालाई जन्म दिएकी अल्काको अत्याधिक रक्तस्राव भयो।

तर, लामो समयसम्म चिकित्सकले ध्यान नदिएको अल्काका पति इन्द्रजीतले वताए। अन्तिम अवस्था भएपछि अस्पतालले विरामीलाई रेफर गर्यो। उनलाई परिवारका सदस्यले विराटनगरको नोबेल अस्पताल लगे।

उपचारको क्रममा बिहिवार उनको मृत्यु भयो। त्यसपछि आफन्तले मिर्चैया अस्पतालकै लापरबाहीले अल्काको मृत्यु भएको भन्दै प्रदर्शन गरेका हुन। ‘अत्यधिक रक्तस्राव भइरहेको जानकारी गराउँदा पनि चिकित्सकले वास्ता गरेनन्’ इन्द्रजीतले भने–‘ढिलोगरी बाहिर लान भनियो, त्यसैले यस्तो घटना भयो।’

मृतकका आफन्तले क्षतिपूर्ति र लापरबाही गरेका चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। यस विषयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच प्रहरीको रोहबरमा छलफल समेत भएको थियो। तर, अस्पताल प्रशासनले चिकित्सकको लापरबाही अस्विकार गरेपछि सहमति भने भएको छैन।

अस्पतालकी डा. सरिका गोइतले भने चिकित्सकले गल्ती नगरेको वताईन। ‘अल्काको नर्मल डेलेभरी भयो, बच्चा ठिक छ। डेलेभरी भएपछि केहिबेर रक्तस्राव हुन्छ र रोकिन्छ’ उनले भनिन्–‘अल्काको केसमा त्यस्तो भएन। त्यस्तो अवस्थामा विरामीलाई आइसियूमा राख्नुपर्छ। तर यहाँ आइसियू छैन। त्यसैले बाहिर लान सुझाव दिएका हौं।’

विरामीको नोबेलमा मृत्यु भएको आफुले उनका आफन्तबाटै थाहा पाएको गोइतको भनाई छ। विराटनगर लानेक्रममा बोदेबर्साइनमा लगेर क्लिनिकमा देखाउने लगायतका अलमल गरेका कारण अल्काको मृत्यु भएको हुन सक्ने उनले वताईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट