दरबार हत्याकाण्डबारे ज्ञानेन्द्रले मुख खोलेः जालझेल गरी नकारात्मक भावना फैलाईयो

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका बारेमा मुख खोलेका छन्। वीरगन्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले दरबार हत्याकाण्ड बारे नेपालीको मनमा आफ्नो परिवारबारे भ्रम फैलाईएको दाबी गरे।
‘आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ’ उनले भने–‘तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।’
१९ जेठ ०५८ मा घटेको विनाशकारी घटनालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका उनको भनाई छ। ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। सत्य सधैँ सत्य हुन्छ। असत्यको विजय कहिले हुँदैन’ उनले भने–‘हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’
राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेर नै आङ्कलन गरेको जिकिर उनले गरे। बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको उनको भनाई छ।
हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्याङ्कन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्ने उनका सुझाव छ।