माओवादी नेतासँग जोरी खोज्दा देश निकालमा परिन चीनियाँ संस्थाकी प्रमुख

काठमाडौँ– जाजरकोटमा माओवादी नेता र उनका कामदारबाट कुटिएकी चीनियाँ महिला डिपोर्ट (नेपालबाट निष्कासनको निर्णय) भएकी छिन। अवैध रुपमा नेपालमा बसिरहेको खुलासा भएपछि चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङलाई डिपोर्ट गरिएको हो।

अध्यागमन विभागले उनलाई १५ हजार रुपैयाँ जरिवाना समेत गरेर छाडेको पुष्टि भएको छ। गत २८ मंसिरमा अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले गृह मन्त्रालयलाई पत्राचार गर्दै सोउ सिच्याङ भिसा अवधिभन्दा बढी नेपाल बसेको पाइएकाले अध्यागमन ऐन, २०४० को दफा १० (४) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरेका थिए।

सोही ऐनको दफा ९ (१) र ९ (१क) ले गरेको व्यवस्था तथा अध्यागमन कार्यविधि २०६५ को दफा ६ (३) देहायको २ (१० ) बमोजिम उक्त भिसामा नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नको लागि समेत निर्णयार्थ पेस गरेका थिए।

सोहीअनुसार गृह मन्त्रालयले निष्काशनसम्बन्धी निर्णय गरेको थियो। गत २० मंसिरमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसी तथा उनका चालक र भान्सेले ति महिलालाई कुटपिट गरेका थिए। सो विषयमा केसीलाई पार्टीले स्पष्टीकरण समेत सोधेको थियो।

जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई राहत लिएर गएका बेला उनीमाथि कुटपिट भएको थियो। माओवादी केन्द्रका नेताहरूका अनुसार आठबीसकोट नगरपालिका पूर्व मेयरसमेत रहेका केसीको समूहले जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना बजारमा ति महिलामाथि हातपात गरेको आरोप छ।

उक्त प्रकरणमा सोधिएको स्पष्टिकरणमा उनले पार्टीका महासचिव देव गुरुङनै यो प्रकरणमा अग्रपंक्तिमा रहेको र राहत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन्। ५ माघमा वुझाएको स्पष्टीकरणमा आफन्तका लागि चिनियाँहरूको प्रोजेक्ट मिलाएको आरोप लगाईएको छ। ६ पाना लामो स्पष्टीकरणमा उनले राज्य शक्तिको दुरुपयोगबाट केही गर्न नसक्ने देखिएपछि प्रदेश अध्यक्ष विमला केसीसमेतको दबाबमा देव गुरुङले आफूलाई पार्टीबाट निकाल्न स्थायी कमिटीमा प्रस्ताव गरेको दाबी छ।

स्पष्टीकरणमा १८ मंसिरमा महासचिव गुरुङ, प्रदेश इन्चार्ज मातृका यादव र प्रदेश अध्यक्ष केसी आफ्नो घरमा बास बसेको,सो क्रममा ग्लोबल कोअपरेशन फर डेभलपमेन्ट नामक चिनियाँ संस्थाका कन्ट्री मेनेजर मुक्ति मरासिनीसँग आफ्नो चिनजान गराइएको तथा जाजरकोट पठाएको भूकम्प प्रभावितको राहत सामग्री काठमाडौँमा भनिएको भन्दा कमसल भएको पाइएपछि आफूले सोधपुछ गरेको उनले उल्लेख गरेका छन्।

जवाफमा मुक्तिले आफ्नो बचाउ गरेको र मरासिनीले राहत सामान दुरुपयोग गर्न गुरुङकै अगाडि आफूलाई उक्साएको तर महासचिव मौन बनिदिएको उनको स्पष्टीकरणमा उल्लेख छ। यही विषयमा मतभेद भएपछि गुरुङ आफ्नो घरबाट बासै छोडेर हिँडेको पनि उनले दाबी गरेका छन्।

आफ्नो घरमा लुटको धन्दाको सामग्री नराख्न भनेर मरासिनीलाई भनेको र सोहीअनुसार सामाग्री निकाल्ने क्रममा आफूले घोटाला भएको सामानबारे सोध्दा चिनियाँ महिला गाडीबाट निस्केर विवाद निकालेको उनको दाबी छ। ती महिलाले अङ्ग्रेजीमा आफूलाई बेस्सरी गाली गरिरहेपछि आक्रोशित बन्दै आफूकहाँ काम गर्ने १२ कक्षा पढ्दै गरेको युवकले आवेगमा आएर महिलाको गालामा बेस्सरी झापड लगाएको केसीले बताएका छन्।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट