भारतको पटाका कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु, सडकमा असरल्ल थिए मानव अंग

काठमाडौं– भारतको मध्यप्रदेशमा रहेको पटाखा कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। १७४ जना घाइते भएका छन्। राजधानी भोपालबाट १५० किलोमिटरको दूरीमा रहेको हरदा शहरमा आगलागीको हो।

कारखानामा मंगलबार बिहान १० बजे भीषण आगलागी भएको थियो। पटाखा कारखानामा आगलागी र त्यसपछि भएको विस्फोटका कारण पाँच किलोमिटर वरपर क्षेत्रका घरका झ्यालका सिसा फुटेका थिए।

पहिले कारखानामा आगो लागेको र त्यसपछि त्यहाँ रहेको बारूदको स्टक विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरूका अनुसार एकपछि अर्को विस्फोट भइरहँदा मानिसहरू कराइरहेको चित्कार सुनिएको थियो।

करिब २५–३० किलोमिटरसम्म विस्फोटको आवाज सुनिएको भारतीय समाचार संस्थाहरूले जनाएका छन्। प्रत्यक्षदर्शीका अनुसार मानव अंगहरू सडकमा छरिएका थिए भने कारखाना वरिपरि पार्क गरिएका सवारीसाधनहरूमा क्षति पुगेको थियो।

घटनापछि पटाका कारखानाका मालिक राजेश अग्रवाललाई रायगढको सारणपुरबाट पक्राउ गरिएको छ। उद्योगमा बारूदको ठूलो भण्डार रहेको अग्रवालले प्रहरीलाई बताए।

स्थिति यति गम्भीर छ कि राज्य सरकारले घटनास्थलबाट मानिसहरूलाई बाहिर निकाल्न सेनालाई हेलिकप्टर उपलब्ध गराउन भनेको छ। आगलागीको कारण भने थाहा हुन सकेको छैन।

हाल कारखानामा लागेको आगो निभाइएको र दुर्घटनास्थलबाट भग्नावशेष हटाउने काम शुरू भएको छ। सञ्चार माद्यमहरुका अनुसार नर्मदापुरमका आयुक्त पवन शर्माले घटनास्थलबाट हालसम्म १७५ जनाको उद्धार गरिएको बताए।

जसमध्ये ३४ जनालाई उपचारका लागि भोपाल पठाइएको छ भने १४० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भोपाल पठाइएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। घाइतेमध्ये १० जनाको जिल्ला अस्पतालमै मृत्यु भएको छ।

मंगलबार कारखानामा बिदा रहने भए पनि केही व्यक्तिहरू भित्र रहेको प्रत्यक्षदर्शीले बताएका छन्। उनका अनुसार आगो लाग्नुअघि सानो विस्फोट भएपछि केही मानिसहरू बाहिर निस्किएका थिए। त्यसपछि केही मानिसहरू के भयो भन्दै घटनास्थलतर्फ गएका थिए। त्यही क्रममा ठूलो विष्फोट भयो र त्यसपछि थप विस्फोट भयो।

विष्फोटको आवाज सुनेपछि त्यहाँ जम्मा भएका मानिसहरूले घाइतेलाई अस्पताल लैजान थालेका थिए। समयमै अस्पताल नपुगेको भए मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्शी बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट