मुग्लिन–पोखरा सडकखण्डमा अनौठो ब्यापारः होटलका शौचालयमा दानपेटिका राखेर जवर्जस्ती असुली

पोखरा– पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वारका रुपमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडकखण्डमा अहिले अनौठो ब्यापार चलिरहेको छ। यात्रु ठग्न गैरकानुनी रुपमा चलिरहेको यो ब्यापारका विषयमा स्थानीय प्रशासन समेत मुकदर्शक छ।

यो सडक अन्तर्गत तनहुँ क्षेत्रमा खुलेका हरेक होटलका शौचालयमा दान पेटिका राखिएका छन्। तर, पेटिकामा दान गर्न भने पाईदैन। दानपेटिकाका नाममा हरेक यात्रुसँग दिशा गरेको २० र पिसाव गरेको १० रुपैयाँका दरले असुली गरिन्छ। होटलको शौचालयमा पैसा असुल गरिएको विषयमा प्रश्न उठाउन पाईदैन।

प्रश्न उठाउने यात्रुलाई दुरब्यवहार गर्ने र अपशब्द प्रयोग गर्ने गरिएको छ। सोमवार मात्रै पोखराबाट काठमाडौं जाँदै गरेका यात्रु होटलवालाको दुर्ब्यवहारको शिकार भएका छन्। म्याग्दे गाउँपालिका– ३, ध्यारे थर्पुमा रहेको ‘त्रिशुली पेट्रोल पम्प संगाई संगिता खाजा घर’मा उनलाई दुर्ब्यवहार गरिएको हो।

दानका नाममा शौचालयमा जवर्जस्ती पैसा असुली गरिरहेकोको देखेपछि ति यात्रुले फोटो खेचेका थिए। फोटो खिचेको थाहा पाएपछि होटल संचालकले अन्य मान्छेसमेत भेला गरेर ति यात्रुलाई दुर्ब्यवहार गर्दै फोटो डिलिट गर्न लगाए। अन्त्यमा ‘फोटो कतै सार्वजनिक भए ठिक नहुने’ भन्दै ति यात्रुलाई छोडिएको उनीसँगै रहेका अन्य यात्रुले बताए।

मुग्लिन–पोखरा सडक खण्ड अहिले ४ लेनको बनाउने गरी विस्तार र स्तरोन्नति हुँदैछ। तर, सुस्त गतिको निर्माण कार्यका कारण सडकको दुरावस्था छ। करिव ५ घण्टाको पोखरा–काठमाडौँको यात्रा अहिले ९/१० घण्टामा पनि छिचोल्न मुस्किल छ। सडकको यो अवस्थाले पोखरा आउजाउ गर्ने यात्रु एवम् स्वदेशी तथा विदेशी पर्यटक मारमा छन्।

यसैको फाईदा सडक आसपासमा खुलेका होटल तथा सवारी चालकले उठाउने गरेका छन्। उनीहरुको मिलेमतोमै यात्रुहरु ठगिने गरेका छन्। नेपालको पर्यटकीय चहलपहल धेरै हुनेमध्ये एक रहेको यो सडक भएर दैनिक साढे ७ हजारभन्दा वढि सवारी गुड्ने गरेका छन्।

यिनै सवारी साधनलाई लक्षित गरी बाटैभरी होटलहरु सञ्चालनमा छन्। अधिकांश होटल एकान्त स्थानमा र एक्लो छन्। यात्रुलाई खाना, नास्ताका लागि सार्वजनिक सवारी साधन पनि तिनै होटलमा मात्रै रोक्छन्। जस्ले गर्दा यात्रुसँग विकल्प नहुँदा जस्तोसुकै खानेकुरा खानु पर्ने र पैसा तिरेरै शौच गर्नु पर्ने वाध्यता छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले भने यो विषय पहिलो पटक जानकारीमा आएको बताउँदै थप जानकारी लिने र आवश्यक कारवाही गर्ने वताएको छ। दानपेटिकाका नाममा भईरहेको असुलीका विषयमा तनहुँका सीडीओ जनार्दन गौतमले पनि जानकारी लिने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट