खराब आचरण भएका २ न्यायाधीश बर्खास्त गर्न सिफारिस, करोडौं डिल गर्ने कोईरालालाई सफाई

काठमाडौं– खराब आचरणको आरोप लागेका न्यायाधीश द्वय डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस हुँदा २ करोड घुस डिल गरेको अडियो सार्वजनिक भएका न्यायाधीश राजकुमार कोइरालालाइ भने जोगिएका छन्।
न्याय परिषद्को आइतबारको बैठकले उच्च अदालतका न्यायाधीश थपलिया र जिल्ला अदालतका न्यायाधीश निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ। थपलिया पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मिलेर मुद्दामा सेटिङ गरेको आरोपमा मुछिएका थिए।
न्याय परिषद्ले गत पुसमै न्यायाधीश थपलियाको जिम्मेवारी खोसी उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट न्याय परिषद्मा तानिएको थियो। थपलियालाई तत्कालीन प्रधानन्यायाधीश राणा नेतृत्वको न्यायपरिषद्ले १९ चैत ०७५ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको थियो।
उता निरौलाले काठमाडौँ जिल्ला अदालतमा रहँदा भ्याली कोल्ड स्टोरका सञ्चालक हरिबहादुर रावलका छोरा बाबुराजालाई अपहरण गरी फिरौती लिने समूहका अभियुक्त दुर्गाबहादुर बुढाथोकीलाई अस्वाभाविकरूपमा सफाइ दिएको आरोप थियो। मिटरब्याजीका पक्षमा फैसला गरेको भन्दै उनी विवादमा तानिएका थिए।
यता, २ करोड घुस डिल गरेको आरोप लागेका न्यायाधीश राजकुमार कोइरालालाई भने परिषद्ले सचेत गराएर छोडेको छ। उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएर हाल जेल जीवन बिताइरहेका सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङको मुद्दामा कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड रुपैयाँ घुस डिल गरेको अडिओ टेपका कारण विवादमा परेका थिए। उक्त अडिओ ८ असोज ०७९ मा बाहिरिएको थियो।
१० मिनेटको उक्त अडिओमा कानुन व्यवसायी पोख्रेल र कोइरालाबीच इच्छाराजलाई छुटाउनेबारे मोलमोलाइ गरिएको थियो। अडिओमा पोख्रेलले इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्ने र काम मिलाए बापत आफूले दुई करोड रूपैयाँ दाबी गर्ने बताएका थिए।
पोखरेलसँग घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि कोइरालाले स्पष्टीकरण दिँदै फोनवार्ताको न्याय परिषद्बाट छानबिन माग गरेका थिए। काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि भएको घूस लेनदेनबारेको अडिओ २०७९ असोज ८ गते सार्वजनिक भएको थियो।