स्कुल बसले ठक्कर दिँदा वेहुलीकी भाउजुसहित २ जनाको मृत्यु

जनकपुर– धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २३ बिन्धीमा आईतबार एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। अन्य ६ जना घाईते छन्।

बोर्डिङ स्कुलको प्र २–०२–००१क ०४३१ नम्वरको बसको ठक्करबाट स्थानीय ३५ वर्षीय राखीदेवी यादव र ५८ वर्षीया देवकलीदेवी साहको घटनास्थलमै मृत्यु भएको हो।

जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको बसले उनीहरूलाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार मृतक राखीदेवीकी नन्दको आजै विवाह थियो। विवाहको मटकोर विधिका लागि उनीसहित महिलाको एक समूह माटो लिएर खेतबाट फर्कदै थियो।

सोही क्रममा बसले महिलाको समूहलाई नै ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए। घाईते मध्ये ५ जनाको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ५० वर्षीय अम्बिका देवी झाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि विराटनगर रेफर गरिएको छ।

अन्य घाइतेहरुमा ७० वर्षीया पशुपति देवी यादव, भुवनेश्वर देवी यादव, ४ वर्षीय सोनुकुमार साह, २४ वर्षीया ममता देवी यादव र ४० वर्षीया दलसिया देवी साह छन्।

घटनापछि आक्रोशित समुहले ठक्कर दिने बसमा आगजानी र एकजनाको घरमा लुकेका चालकलाई आक्रमण गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा ढुंगामुढाबाट ७ जना प्रहरी सामान्य घाइते भएको डीएसपी अवाले बताए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट