आफैलाई भगवान घोषणा गरेका शिवनारायण आफ्नै मृत्युदर्ता गरेको आरोपमा पक्राउ

काठमाडौं– पुनर्जन्म पाएको ढोङ गर्दै तन्त्रमन्त्र र झारफुक गर्ने रुपन्देहीको रोहिणी गाउँपालिका–४ घर भएका शिव नारायण सिंह पक्राउ परेका छन्।

तीन वर्षदेखि नवलपरासीको बर्दघाट नगरपालिका –१४ गङाबस्ती बस्दै आएका शिवनारायणलाई आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाएको आरोपमा पक्राउ गरेको हो।

सिंहलाई सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। घर खान तलासी गर्दा सिंहले आफ्नै मृत्यु दर्ताको सरकारी कागज बनाएको भेटिएको प्रहरीको भनाई छ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुदर्शन पन्थीका अनुसार उनले मृत्यु दर्ता गरेर आफूलाई भगवान् दावी गर्दै आएका थिए। ‘मेरो पुनर्जन्म भएको हो’ भन्दै उनले सर्वसाधारणलाई ठगेको इन्स्पेक्टर पन्थीले बताए।

सिंहको साथबाट रोहिणी गाउँपालिका–४ को कार्यालयको रबर स्ट्याम्व, वडाध्यक्षको छाप र आफ्नै सदगद गरेको पुर्जी र नागरिकता बरामद भएको छ। प्रहरीले सरकारी कागजात किर्ते अभियोगमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट