सुन तस्करीको जालोः सीआईबी प्रमुखले नै अनुशन्धानमा असहयोग र प्रमाण नष्ट गरेको खुलासा

काठमाडौं– ब्रेक शुको आवरणमा ‘६० किलो सुन तस्करी प्रकरण’ छानविन गरेको प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले नै संलग्नहरुलाई जोगाउन भरपुर प्रयास गरेको तथा उपलब्ध प्रमाणसमेत नष्ट गरेको खुलेको छ।

३ साउनमा विमानस्थलबाटै तस्करी भएको सुन प्रकरणमा जीवन चलाउने र उनीसँग जोडिएका व्यक्तिहरूलाई जोगाउन सीआईवीले भएको प्रमाण समेत लुकाएको खुलासा भएको हो। सुन तस्करी प्रकरणको छानबिन गर्न गठित आयोगले बुझाएको प्रतिवेदनमा चलाउनेलगायतका व्यक्तिहरूलाई जोगाउन अनुसन्धानमा त्रुटि गरिएको उल्लेख छ।

भन्सार छलेर विमानास्थलबाट बाहिर निकालिसकेपछि राजस्व अनुसन्धान विभागको टोलीले सुन समातेको थियो। अनुशन्धानका क्रममा १४ साउनमा चीनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ प्रकाउ परेका थिए। उनीसँग चलाउने सम्पर्कमा रहेको मात्र होईन, सुनका सवालमा विभिन्न माध्यमबाट कुराकानी गरेको समेत पुष्टि भएको थियो।

त्यसपछि सुन प्रकरणको अनुशन्धान सीआईवीको हातमा पुगेको थियो। सीआईवीले राजनीतिक र प्रशासनिक पहुँच भएका वर्दिया निवासी चलाउनेविरुद्ध अनुशन्धान नै नगर्ने अडान लिएको थियो। तर, दबाब परेपछि वयान भने लिएको गृहमन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।

सुन प्रकरणका मुख्य दोषी दावा छिरिङले सिआइबीलाई दिएको बयानमा पनि जीवन चलाउनेको संलग्नता रहेको बताएका थिए। यसरी चौतर्फी कनेक्सन र दबाबपछि सिआइबीले चलाउनेलाई बोलाएर ४ घन्टा लामो बयान लिएको थियो। उनीसँग विभिन्न कागजपत्र पनि लियो। त्यसवेला उनी सीआईबी कार्यालयमा कागज गरेर छुटेका थिए।

तर, अभियोग पत्र तयार पार्ने क्रममा भने चलाउनेको बयान र उनले उपलब्ध गराएका कुनै पनि प्रमाणहरू सीआईबीले पेस गरेन। सीआईवीले बयान लिएको र आफुले कतिपय कागजपत्र उपलब्ध गराएको उनी स्वयमले पनि छानविन आयोग समक्ष स्विकारेका छन्।

उनको विषयमा सीआईवीले उदासिनता देखाउनुमा पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसँगको कनेक्शन कारण रहेको सुरक्षा स्रोत वताउँछ। चलाउने कुनै समय आफूलाई अपराध अनि सुरक्षा सम्बन्धी पत्रकार भनेर चिनाउँथे। उनीबारे जानकार स्रोतकाअनुसार उनले आफूलाई ‘क्राइम टुडे’ पत्रिकाको पत्रकार भन्दै परिचय दिन्थे। त्यही परिचयको आधारमा उनी प्रहरीसँग निकट भएका थिए।

चलाउनेबारे जानकार स्रोतकाअनुसार उनी केही प्रहरी अधिकृतका लागि सहयोगीको रूपमा काम गर्थे। पत्रकार भन्दै सुराकीको काम गर्ने उनको पूर्व प्रहरी प्रमुख खनालसँग एसपी हुँदादेखि नै सम्वन्ध रहेको स्रोत वताउँछ। उनीहरुबीच कारोबारी सम्बन्ध रहेको सूचना सीआइबीले पाएको थियो। तर, सीआईबीले खनालमाथि अनुसन्धान गरेन। त्यतिमात्र होइन, चलाउने पक्राउ परेपछि खनालको संलग्नताको विषयमा वयान दिएपछि कागज च्यातेर उनलाई छाडिएको थियो। पछि चलाउने नै फरार भएका थिए।

त्यसैले सिआइबीले अभियोग पत्रमा उनको बारेमा उल्लेख नगरेको मात्र होईन। छानबिनको कागजात आयोगलाई बुझाउँदा चलाउनेसँग सम्बन्धित कुनै पनि प्रकरण उल्लेख गरेन। मौखिक बयानमा पनि चलाउनेका विषयमा प्रसंग नै ननिकालेको आयोगका एक सदस्यले बताएका छन्।

आयोगले छानविन प्रतिवेदन वुझाई सकेपछि गृहमन्त्री रवि लामिछानेले पनि सुन प्रकरणको अनुसन्धानमा प्रमाणहरू नष्ट भएको बताई सकेका छन। प्रतिवेदनमा सिआइबीले अनुशन्धानमै असहयोग गरेको उल्लेख छ। आयोगले सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसहित अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई विभागीय कारबाहीको सिफारिस गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट