सुन तस्करी प्रकरणमा पक्राउ परेका जिवन चलाउनेलाई सीआईबीले यसरी भगायो
काठमाडौं– नयाँ सरकार गठनसँगै अहिले देशमा सुन तस्करी प्रकरण चर्चामा छ। प्रहरीले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णवहादुर महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलगायतका ठुला माछा (भीआईपी आरोपित) लाई पक्राउ गरेपछि यो प्रकरणले अझै चर्चा पाएको छ।
तर, तस्करीमा संलग्न भएकाहरुलाई इमान्दारिता पूर्वक कारवाही होला भन्नेमा अझै पनि आशंका भने कायमै छ। शक्तिकेन्द्रको दबाब र प्रभावमा कतिपय आरोपितलाई प्रहरीले भगाउँछ र जोगाउँछ भन्ने कुरा यही घट्नाबाट देखिएकाले पनि अहिलेको चर्चालाई सर्वसाधारणले खासै पत्याई हालेका छैनन्।
‘केटाकेटी आए, गुलेली खेलाए। मट्याङ्ग्राको नास’ भने झै विस्तारै सेटिङ मिलाएर सवै छुट्ने तस्करले सफाई पाउने र अन्त्यमा राज्यको स्रोत र साधन मात्रै दुरुपयोग हुने कुरामा नागरिक लगभग विश्वस्त जस्तै छन्।
किनकी सुन तस्करी प्रकरणको अनुशन्धानको जिम्मेवारी पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नै जीवन चलाउनेसहितका आरोपितलाई पक्राउ गरेर पनि भगाएको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार अछामका जीवन चलाउनेसँगै नेपाली नागरिक रामकृष्ण थापा र भारतीय नागरिक नन्दुकुमार पाण्डुराम मर्गलेलाई सीआईबीले पक्राउ गरेको थियो। प्रतिवेदनमा उल्लेख भए अनुसार नन्दुकुमारका दाजु–भाइ न्यूरोडमा सुन चाँदी पसल गर्छन्।
उनीहरुले तस्करीको सुन किन्ने तथा नेपालदेखि भारतसम्म पुर्याएर बेच्ने गरेको स्वीकार पनि गरेका छन्। उनीहरुलाई सीआईवीले बयानको कागज गराएर छोडेको थियो। तर, सरकारी वकिल समक्ष प्रतिवेदन पेश हुँदा पक्राउ परेको नदेखाई फरार प्रतिवादी बनाएर पेश गरिएको थियो। विमानस्थलमा सेटिङ मिलाउने भुमिकामा रहेका रामकृष्ण थापालाई पनि कागज गराएर छोडेको तर पछि फरार देखाएको प्रतिवेदनमै उल्लेख छ।
अहिलेसम्म पनि फरार रहेका चलाउनेलाई सीआईबीका प्रमुख किरण बज्राचार्यले बिदाको दिन बोलाएर बयान लिएर छाडेको पाईएको छ। २० भदौ (कृष्ण जन्माष्टमीको दिन) सीआईबीले चलाउनेलाई बोलाएर छाडेको थियो। त्यसपछि चलाउने फरार भएका थिए।
आयोगले वयानका लागि बोलाउँदा आएका उनलाई त्यसक्रममा समेत सीआईबीले भगाएको आयोगका एक सदस्यले खुलासा गरेका छन्। उनका अनुसार चलाउने सुरुमा मलेसियामा थिए। आयोगले उनलाई सम्पर्कमा ल्याएर नेपाल बोलायो। उनी तयार पनि भए। उनी मलेसियाबाट नयाँदिल्ली हुँदै नेपालगञ्जसँग जोडिएको भारतीय बजार रुपैडियासम्म आएका थिए।
तर यो कुरा थाहा पाएपछि सीआईबीका अधिकारीले नै चलाउनेलाई भगाएको उनको दावी छ। त्यसपछि आफू दिल्ली नै फर्केको बताएका थिए। तर आयोग स्रोतका अनुसार चलाउने दुई दिनसम्म काठमाडौंमै बसेर तेस्रो दिन मात्रै काठमाडौंबाट वाहिर निस्किएका थिए।