विदेश गएका वेला गाउँपालिका अध्यक्षले श्रीमती उडाई दिएपछि भीमबहादुरको विचल्ली
काठमाडौं– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाविरुद्ध अर्काकी श्रीमती लगेको र ७ लाख रुपैयाँसमेत हिनामिना गरेको आरोपसहित उजुरी परेको छ।
सर्लाहीको बाग्मती नगरपालिका–४ का भीमबहादुर मोक्तानले आफ्नी श्रीमती संगितालाई लगेको र आफुले विदेशबाट श्रीमतीलाई पठाएको पैसासमेत हिनामिना गरेको भन्दै वाइवाविरुद्ध गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिएका हुन् ।
मोक्तानले दिएको निवेदन अनुसार ८ वैशाख ०६९ मा उनीहरुको विवाह भएको थियो। त्यसको एक वर्षपछि उनीहरुकी एक छोरी जन्मिईन। आर्थिक अभाव भएपछि उनी ०७१ सालमा मलेसिया गए।
५ असोज ०७८ (३ वर्षपछि) घर फर्किँदा संगीता घरमा थिइनन्। छोरीलाई होस्टेलमा राखेर उनी बज्रध्वजसँग हिडेको उनले पत्ता लगाए। आफनो घरसमेत संगिता र बज्रध्वजले मिलेर भाडामा लगाएको थाहा पाएपछि उनी छाँगाबाट खसे जस्तै भए।
यही क्रममा १३ मंसिर ०७८ मा संगिता घर फर्किईन। छोरीको भविष्य सम्झेर उनले श्रीमतीलाई केही नभनी स्विकारे। त्यसको भोलीपल्ट १२/१५ जना मानिसहरु लिएर बज्रध्वज उनको घरमा आए र ‘मेरो श्रीमती बज्रध्वजले लग्यो भन्दै हल्ला गर्थिस अरे, श्रीमती त घरमै रहिछत’ भन्दै कुटपिट गरे।
‘आइन्दा निहुँ खोजिस भने अरु १२ जनालाई मारेजस्तै तँलाई र तेरो छोरीलाई पनि मार्दिन्छु’ भन्दै वज्रध्वजले धम्क्याएर गएको भीमबहादुर सम्झन्छन्। ०७८ को पुस मसान्ततिर फेरी घर छोडेर हिडेकी संगिताले माघको पहिलो हप्ता फोन गरेर ‘अब मेरो पछाडि नलाग्नु, यदि यसबारेमा बाहिर मिडियामा गएमा तिमीहरूको नाममा सुसाइड नोट लेखेर आत्महत्या गर्छु’ भनेर धम्क्याइन्।
यही वेला अध्यक्ष बज्रध्वज र संगीताबीच भएका अडियो कुराकानी र सँगै खिचिएका फोटोहरू पनि अहिले सामाजिक सञ्जालमा अपलोड भईरहेका छन्। माओवादीबाट निर्वाचित अध्यक्ष बज्रध्वज विवाहित हुन्। क्यान्सरबाट पहिलो श्रीमतीको मृत्यु भएपछि दोस्रो विवाह गरेका उनले संगीतालाई पनि श्रीमती बनाउन खोजेको जानकारहरु वताउँछन्। तर, उनले भने आफूमाथि लागेको आरोप झूटो भएको दाबी गरे।
अध्यक्ष वाइवाविरुद्ध परेको निवेदन न्यायीक समितिले प्रहरीमा पठाइदिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जिवी दाहालले गाउँपालिकाको न्यायीक समितिबाट आएको पत्र अध्ययन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए। उजुरीमा नाम उल्लेख गरिएकी महिलालाई छलफलका लागि बोलाउने तयारी भईरहेको उनको भनाई छ।