सीआईबीलाई बयान दिन विहान ८ वजे नै सरकारी वकिलमा पुगे विनोद चौधरी

काठमाडौं– सरकारी जग्गा हिनामिना गरेको आरोपमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग सीआईबीले बयान लिन थालेको छ। विहिबार विहान ८ वजेदेखि नै चौधरीले सरकारी वकिलको कार्यालयमा बयान दिन थालेका छन्।

उनी आफैं बिहान सरकारी वकिलको कार्यालय, काठमाडौं पुगेको जनाईएको छ। बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ। अनुशन्धानकै क्रममा यसअघि उनको भाई अरुण चौधरी पक्राउ परेर छुटेका छन्।

यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको हिजो जानकारी गराएको थियो। बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा विनोद चौधरी शेयर धनी तथा तत्कालीन सञ्चालक समिति सदस्य रहेका बेला च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो।

गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका हुन्। कारखाना घाटामा गएको भन्दै तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले चौधरी घरानाका लुनकरणदास चौधरीसँग सम्झौता गरेर जग्गा दिएका थिए।

सम्झौतामा ५१ प्रतिशत शेयर करणदास चौधरी र परिवारको नाममा, २५ प्रतिशत बाँसबारी र २४ प्रतिशत सर्वसाधारणको शेयर रहने भनिएको थियो। २७ कात्तिक २०४३ मा च्याम्पियन फुटवयेर कम्पनी दर्ता भएको थियो भने ५ भदौ २०४४ मा बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा हस्तान्तरण भयो। थप ४ रोपनी जग्गा पनि च्याम्पियन फुटवेयरको नाममा गयो।

च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २१०० कित्ता शेयर थियो भने विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००÷२०० कित्ता शेयर थियो। गंगा चौधरीको नाममा १०० कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो। सर्वसाधारणका लागि भने शेयर जारी नै भएन।

प्रजातन्त्र पुनर्स्थापनापछि कारखाना निजीकरण गरेपछि च्याम्पियन फुटवेयरमा रहेको २ हजार कित्ता शेयर चौधरी समूहले आफ्नो बनायो। त्यही प्रकरणमा अनुशन्धान गर्दा १८ माघमा अरुण चौधरीसहित ३ जना पक्राउ परेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट