नुहाउन गएकी १९ वर्षीया किशोरीको घाँटी काटेर हत्या गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौं– पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया किशोरी पद्मा सुनारको घाँटी काटेर हत्या गरेको आरोपमा प्रहरीले सोही वडाको लप्सीखोला वस्ने १९ वर्षीय सागर (देवलाल सार्की) लाई पक्राउ गरेको छ।
पद्मा मंगलबार विहान नुहाउन र कपडा धुन भनेर लप्सीखोला गएकी थिईन। लप्सीखोला उनको घरबाट दुई किलोमिटर टाढा पर्छ। उनी दिउँसो साढे ३ बजेसम्म पनि नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो।
उनले लिएर गएका कपडा लप्सीखोलाबाट कराम्दी जाने गोरेटोमा फेला परेका थिए भने त्यसको करिव २० मिटर तल खरबारीमा पद्माको शव भेटिएको थियो। टाउको, घाँटी र हातलगायत विभिन्न भागमा धारिलो हतियारले प्रहार गरिएको थियो।
प्रहरीले अनुसन्धानका क्रममा /४ जनालाई पक्राउ गरेको थियो। तर, हत्यामा सागरको संलग्नता पुष्टि हुने प्रमाण फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले बताए। प्रहरीका अनुसार मंगलबार दिउँसो १२ बजे सागर गोठमा काम गरी हसिँया लिएर फर्किरहेका थिए। पद्मा धोएका कपडा डोकोमा हाल्दै थिईन।
त्यही वेला पद्मा र सागरको भेट भएको अनुमान छ। रिसाहा स्वभावका सागरसँग पद्माको भनाभन भएको र आवेगमा आएर उनले हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। विवादको कारण अहिलेसम्म खुलेको छैन। हँसियाले प्रहार गरेर उनले पद्मालाई २० मिटर तल घिसारेर खरबारीमा पु-याएको र त्यहाँ पनि टाउकोमा दुई/तीन पटक प्रहार गरेका खुलेको छ।
त्यसपछि उनले मृतक पद्माको मोबाइल समेत लिएर गएका थिए। अनुसन्धानको क्रममा प्रहरी उनको घरमा पुगेको थियो। जहाँबाट प्रहरीले घटना हुँदा लगाएको कपडा, हँसिया र मोबाइल बरामद गरेको छ। पद्मा स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
र, यो पनि