राजस्थानमा ‘हिट स्ट्रोक’का कारण ६ जनाको मृत्यु, तापक्रम ४९ डिग्रीसम्म मापन
काठमाण्डौं– भारतको राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको छ। राजस्थानमा तापक्रम ४९ डिग्री सेल्सियससम्म मापन गरिएको छ।
राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको अधिकारीहरूले बताएका छन्। स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको संख्या सोमबार ३ हजार ६२२ पुगेको छ। मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ। विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ।
भारतका ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ। गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने भन्दै सचेत गराएको थियो।