तराईमा अझै ३ दिन गर्मीको खतरा, १८ जेठसम्म सचेत रहन मौसम विभागको आग्रह

काठमाण्डौं– केही दिनयता देशभर गर्मी अत्याधिक गर्मी वढेको छ। खास गरी तराई क्षेत्रमा यसको प्रभाव धेरै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम मापन गरिएको छ।
विभागले आगामी केही दिन तराई भेगमा अझै पनि अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ। १८ जेठसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने र बान्ता आदि हुनसक्ने महाशाखाको भनाइ छ।
गर्मीबाट बच्न आवश्यक तयारी गर्न पनि महाशाखाले अनुरोध गरेको छ। यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान र हल्का लुगा लगाउन महाशाखाले अनुरोध गरेको छ।
यस्तै, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, पटक–पटक पानी तथा झोल पदार्थ पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन पनि महाशाखाले अनुरोध गरेको छ।