भिजिट भिसामा मान्छे पठाउन अध्यागमनमा गृहमन्त्रालयबाटै दबाब, एक कर्मचारी पक्राउ

काठमाण्डौं– नेपालीलाई भिजिट भिसामार्फत गैरकानूनी रुपमा विदेश पठाउने काममा गृहमन्त्रालयकै कर्मचारी सकृय रहेको खुलेको छ।
मावन बेचबिखन अनुसन्धान ब्यूरोले मन्त्रालयका कम्प्युटर अपरेटर निर्मल विष्टलाई कार्यालयबाटै पक्राउ गरेपछि यो विषय वाहिर आएको हो। यो काममा गृहमन्त्री रवि लामिछाने र गृहसचिव एकनारायण अर्यालय पनि सर्वसाधारणको नजरमा शंकाको घेरामा परेका छन्।
जानकारी अनुसार गत २१ असारमा थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जना नेपालीलाई नरोक्न भन्दै विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा फोन गरेका थिए। उनले गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालसँग कुरा मिलिसकेको भन्दै दबाब दिएपछि अध्यागमनले चासो राखेको थियो।
अध्यागमन प्रमुख सुरेश पन्थीले विष्टको अनुचित दबाब अस्विकार गर्दै गृहमा सोधखोज गर्न थालेपछि गृहसचिव अर्यालले विष्टलाई २५ असारमा सेवाबाट हटाएका थिए। जागिर गुमेपछि थमौतीका लागि आग्रह गर्न मन्त्रालय पुगेका वेला उनलाई पक्राउ गरिएको हो।
गृहमन्त्री लामिछानेको सचिवालयले भने भिजिट भिसामा गैरकानूनी रुपमा मान्छे पठाउने काम गरिरहेको आशंका भएपछि विष्टलाई थप अनुशन्धानका लागि प्रहरीको जिम्मा लगाईएको जनाएको छ।
विष्ट ०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।