आमाको स्कुटरमा बसेर विद्यालय जाँदै गरेका बालकको ट्रकको ठक्करबाट मृत्यु

काठमाण्डौं– काठमाण्डौंमा आमासँग विद्यालय जाँदै गरेका बालकको ट्रकको ठक्करबाट आईतबार विहान मृत्यु भएको छ। मृत्यु हुने बालक रौतहटको राजपुर नगरपालिका–१ का ११ वर्षीय आदित्य गुप्ता हुन।
आमा सरिताकुमारी गुप्ताले चलाएको ना ६ ख २२०३ नम्बरको स्कुटरलाई काठमाण्डौं महानगरपालिका–१४ बल्खुचोकमा बागमती प्रदेश ४ ख २९०१ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
बल्खुबाट सानेपातर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि बालक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बयोधा अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
आमा सरिताकुमारी सामान्य घाइते भएकी छिन्। उनको खुट्टामा चोट लागेको छ। उनी उपचारपश्चात अस्पतालबाट डिस्चार्ज भईसकेकी छिन्। छोरालाई स्कुटरको पछाडि राखेर धोबीघाटस्थित आइडियल मोडल स्कुल जाँदै गर्दा दुर्घटना भएको थियो। बालक उक्त विद्यालयको कक्षा ५ मा अध्ययनरत रहेको जनाईएको छ।
ट्रकचालक यमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।