‘गरिबले भ्रष्टाचार गर्छन्’ भन्ने कठायतलाई मतदाताले दिए जवाफः ज्ञानेन्द्र शाही ३३ सय पार, कठायतलाई ४७ मत

काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा देशैभरी रास्वपाको उभार र सो पार्टीका उम्मेदवारहरु विजयउन्मुख हुँदै गर्दा ‘गरिबलाई राजनीतिमा ल्याए भ्रष्टाचार गर्छन’ भन्दै अभिब्यक्ति दिएकी बिनिता विनिता कठायत भने संकटमा देखिएकी छिन्। उनका लागि मतपरिणाम अत्यन्तै निराशाजनक देखाएको छ।

रास्वपाबाट जुम्लामा उम्मेदवार रहेकी कठायत अत्यन्त न्यून मतमा सीमित भईरहेकी छिन्। निर्वाचन आयोगले आफ्नो वेबसाईटमा सार्वजनिक गरेको हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाही स्पष्ट अग्रतामा देखिएका छन्।

उनले ३ हजार ३ सय ७६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले १ हजार ५ सय ४९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाही ७ सय ४७ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेकपा (एमाले) का उम्मेदवार शान्तिलाल महतले ३ सय ६२ मत प्राप्त गरेका छन्।

यसैगरी, नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावतले ५८ मत प्राप्त गरेका छन् भने रास्वपाकी उम्मेदवार कठायतले जम्मा ४७ मत मात्रै प्राप्त गरेकी छन्, जसले जुम्लाको राजनीतिक वृत्तमा व्यापक चर्चा र आश्चर्य पैदा गरेको छ। देशभर रास्वपाले बलियो उपस्थिति देखाइरहेको अवस्थामा जुम्लामा कठायतको यस्तो कमजोर प्रदर्शनलाई राजनीतिक रूपमा अत्यन्तै प्रतीकात्मक परिणामका रूपमा हेरिन थालेको छ।

कठायत यसअघि रास्वपाबाटै समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा पुगेकी सांसद हुन्। यसपटक प्रत्यक्ष निर्वाचनमार्फत संसदमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिएकी थिइन्। तर प्रारम्भिक मतगणनाले उनको त्यो लक्ष्य अत्यन्तै चुनौतीपूर्ण देखाएको छ।

यतिबेला उनको कमजोर मतपरिणामलाई हालै सार्वजनिक भएको एक विवादास्पद अभिव्यक्तिसँग जोडेर पनि विश्लेषण हुन थालेको छ। सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा उनले ‘पैसा नभएका मानिसलाई राजनीतिमा ल्याउँदा घुस खान्छन्, त्यसमा गुनासो गर्न आवश्यक छैन’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिईन।

उनले आफूजस्ता आर्थिक रूपमा सबल र विभिन्न क्षेत्रमा लगानी गरेका व्यक्तिहरू राजनीतिमा आए घुस नखाने दाबी समेत गरेकी थिइन्। गरिबीलाई नै भ्रष्टाचारको सम्भावित कारणका रूपमा चित्रण गरिएको उक्त अभिव्यक्तिलाई धेरैले वर्गीय घमण्ड झल्काउने दृष्टिकोणका रूपमा व्याख्या गरेका छन्।

नेपालजस्तो गरिबी, बेरोजगारी र सामाजिक असमानतासँग जुधिरहेको समाजमा यस्तो अभिव्यक्तिले राजनीतिक नैतिकता र सामाजिक संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको टिप्पणी व्यापक रूपमा भइरहेको छ।

विवादको यो श्रृंखला यतिमै सीमित छैन। यसअघि एक पोडकास्ट अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत जीवनबारे दिएको अभिव्यक्ति पनि विवादमा परेको थियो। ‘मेरो ब्वाइफ्रेन्ड छ तर बिहे गर्दिन’ भनेपछि उनी विवादमा तानिएकी थिईन। अझ अगाडि वढेर उनले विवाह नगरी बच्चा जन्माउने विषयमा पनि बोलेकी थिईन।

राजनीतिक विश्लेषकहरूका अनुसार यो प्रकरण केवल एक उम्मेदवारको विवादास्पद अभिव्यक्ति मात्र होइन, नयाँ भनिने राजनीतिक शक्तिहरूभित्र लुकेको वर्गीय दृष्टिकोणबारे बहस सुरु गराउने घटनाका रूपमा पनि हेरिएको छ। प्रारम्भिक मतपरिणामले मतदाताको मनोविज्ञान र राजनीतिक सन्देशलाई पनि संकेत गरेको विश्लेषण हुन थालेको छ। एकातिर राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीले स्पष्ट अग्रता कायम गरेका छन् भने अर्कोतर्फ रास्वपाकी उम्मेदवार कठायत अत्यन्त न्यून मतमा सीमित हुँदा यो परिणामलाई केवल चुनावी प्रतिस्पर्धा मात्र नभई राजनीतिक सन्देशका रूपमा समेत व्याख्या गरिन थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट