बुढेसकालको प्रेमले जेलको यात्राः प्रेमिकासँग बार्गेनिङ गर्न ६ वर्षीया बालिकाको अपहरण गर्ने सञ्जय पक्राउ

विराटनगर– प्रेमीकाले छोडेर विदेश जाने योजना बनाएपछि उनलाई दबाबमा राख्न ६ वर्षीया बालिकाको अपहरण गर्ने विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवानलाई प्रहरीले पक्राउ गरेको छ।

अपहरणमा परेकी बालिकालाई वन्धक बनाएर राख्ने कार्यमा संलग्न सञ्जयका आफन्त ५० वर्षीय कलानन्द र उनकी पत्नि ४० वर्षीया सरिता पासवान पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार सुनसरीको दुहवी नगरपालिका–१० डुम्राहाकी ६ वर्षीया बालिका मंगलबार दिउँसो करिव ३ बजे अचानक सम्पर्कविहिन भईन।

मामाघरमा खेलिरहेकी बालिका वेपत्ता भएपछि अभिभावकले इलाका प्रहरी कार्यालय दुहवीमा गुहार मागे। लगत्तै खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बुधबार बिहान ६ बजे बालिकालाई विराटनगर–१० स्थित कलानन्द र सरिताको डेराबाट उद्धार गरेको हो। बालिकालाई रातभर सोही डेरामा बन्धक बनाईएको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुशन्धानमा बालिकाकी ठूलीआमा (इच्छा– परिवर्तित नाम) र सञ्जयबीच प्रेम सम्बन्ध थियो। इच्छा वैदेशिक रोजगारीमा जाने तयारीमा थिईन। यो कुरा सञ्जयलाई मन परेको थिएन। यसैबीचमा इच्छा विदेश जाने तयारीका लागि काठमाडौं गईन। त्यसपछि उनलाई रोक्न वार्गेनिङ गर्ने उदेश्यले सञ्जयले बालिकालाई अपहरण गरेको खुलेको छ।

सञ्जयले बालिकालाई अपहरण गरेपछि उनका मामालाई फोन गरी ‘तेरो भान्जी मेरो कब्जामा छ। दिदीलाई घर बोलाउने भए फिर्ता ल्याइदिन्छु। होइन भने अरुलाई नै दिन्छु’ भन्दै धम्की दिएका थिए। तर, उनको योजना पुरा हुन नपाउँदै प्रहरीले नाबालिकाको सकुशल उद्धार गरेको छ।

पक्राउ परेका तीनै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन अदालतबाट ५ दिनको म्याद लिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहवीका इन्सपेक्टर मोहन पोखरेल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *