पेस्तोलधारीले घरबाटै युवक उठाए, चौकीमै बस्यो प्रहरी: सीमामा हतियारधारी छिर्दा के गर्दैथियो राज्यको सुरक्षा संयन्त्र?

राजविराज– सोमबार मध्यरात। सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा एउटा घरभित्र परिवारका सदस्यहरू निदाइरहेका थिए। बाहिरबाट ६–७ जनाको समूह आयो। हातमा पेस्तोल थियो। निदाइरहेका परिवारका सदस्यलाई उठायो, छातीमा बन्दुक तान्यो र २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लिएर गयो। परिवारले तत्काल प्रहरीलाई खबर ग¥यो। तर, उनीहरूका अनुसार राति प्रहरी घटनास्थलमा पुगेन।

अब प्रश्न अभिनन्द यादव कहाँ छन् भन्नेमा मात्रै सीमित छैन। प्रश्न यो पनि हो— गाउँमै प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी हुँदाहुँदै एउटा सशस्त्र समूह घरभित्र पसेर युवकलाई उठाएर लैजान कसरी सफल भयो?

बलान नदीको बाटो हुँदै भारततर्फ लगिएको हुनसक्ने परिवारको आशंका छ। घटनास्थल भारतीय सीमाबाट करिब ५०० मिटर मात्रै टाढा छ। अर्थात्, यो सामान्य अपहरणको घटना मात्रै होइन, सीमावर्ती क्षेत्रमा राज्यको सुरक्षा उपस्थिति, प्रहरीको तत्काल प्रतिक्रिया र सीमा व्यवस्थापनमाथि एकैपटक प्रश्न उठाउने घटना हो।

अभिनन्दका काका अमोद यादवका अनुसार राति करिब १२ बजे घरमा आएका व्यक्तिहरूले परिवारका सदस्यलाई निद्राबाट उठाए। त्यसपछि सबैको छातीमा पेस्तोल ताकेर अभिनन्दलाई नियन्त्रणमा लिए र लगे। परिवारले त्यसैबेला प्रहरीलाई जानकारी गराएको दाबी गरेको छ। तर, प्रहरी तत्काल आएन।

बरु, अभिनन्दलाई अपराधि करार गरेर प्रहरी आफनो जिम्मेवारी र भूमिकाबाट तर्किन खोजेको जस्तो देखिन्छ। किनकि घटना भएको स्थानबाट प्रहरी चौकी टाढा छैन, सशस्त्र प्रहरीको बीओपी पनि त्यही क्षेत्रमा छ। बलान बिहुल–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले पनि गाउँमै सुरक्षा निकायको उपस्थिति हुँदाहुँदै घरबाटै युवकलाई हतियारधारी समूहले उठाएर लैजानु गम्भीर विषय भएको बताएका छन्।

‘अभिनन्द अपराधमा संलग्न थिए’ भने पनि प्रहरीको प्रश्न सकिँदैन
सप्तरी प्रहरी भने घटनापछि रक्षात्मक देखिन्छ, तर जिम्मेवारी लिन तयार देखिँदैन। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी रुपक खड्काले अभिनन्दको खोजी भइरहेको बताएका छन्। उनका अनुसार अभिनन्द भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएर लगेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको छ।

प्रहरी प्रमुखको यो भनाइलाई आधार मान्ने हो भने पनि घटनाले प्रहरीलाई उन्मुक्ति दिँदैन। बरु प्रश्न झन् गम्भीर बन्छ। यदि अभिनन्दलाई साँच्चिकै भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो भने—भारतीय प्रहरी नेपालको भूभागमा कहिले प्रवेश ग¥यो? कसरी प्रवेश ग¥यो? कसको समन्वयमा आयो? र हतियारसहित नेपाली गाउँमा पुगेर एक नेपाली नागरिकलाई घरबाटै नियन्त्रणमा लिएर कसरी फर्कियो?

अझ महत्वपूर्ण कुरा, परिवारले भनेजस्तै घटना राति १२ बजेतिर भएको हो भने त्यसबेला सीमा सुरक्षा संयन्त्र कहाँ थियो ? भारतसँगका सीमा नाका राति १० बजेपछि बन्द हुने व्यवस्था रहेको अवस्थामा मध्यरातमा हतियारसहित आएको भनिएको समूहले नेपाली भूभागमा प्रवेश गरेर एक युवकलाई घरबाटै नियन्त्रणमा लिन सक्नुले सीमाको निगरानीमाथि गम्भीर प्रश्न उठाउँछ।

सीमा नाका बन्द भएपछि सर्वसाधारणको आवतजावत रोकिन्छ भने हतियार बोकेको समूह कसरी आउँछ ?

भारतीय प्रहरी भए पनि ‘हतियारसहित नेपाल प्रवेश’ को प्रश्न
प्रहरीको भनाइअनुसार अभिनन्दलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो भने घटनाको अर्को संवेदनशील पक्ष पनि छ—नेपालको भूभागमा विदेशी सुरक्षाकर्मीको प्रवेश। भारतीय सुरक्षाकर्मी नै भएको अवस्थामा पनि नेपालको भूभागमा हतियारसहित प्रवेश गर्ने विषय सामान्य होइन।

त्यसका लागि सम्बन्धित सुरक्षा संयन्त्रबीच आवश्यक समन्वय र कानुनी प्रक्रिया हुनुपर्ने प्रश्न उठ्छ। त्यसैले प्रहरीसँग नागरिकले स्वाभाविक रूपमा सोध्न पाउने प्रश्न हो—यदि हतियारधारी समूह भारतीय प्रहरी थियो भने उनीहरूको पहिचान किन तत्काल सार्वजनिक गरिएन? नेपाल प्रहरीले उनिहरु आएको कसरी थाहा पाएन ? उनीहरू कुन निकायबाट आएका थिए ? हतियारसहित सीमा पार गर्ने अनुमति वा समन्वय कसरी भयो ?

र यदि प्रहरीलाई यसबारे पूर्वजानकारी थिएन भने नेपालको सीमा सुरक्षाको वास्तविक अवस्था के हो ?

अपराधी भए पनि घरबाट उठाएर लैजाने छुट कस्ले दियो ?
अभिनन्दमाथि भारतमा गम्भीर अपराधमा संलग्न रहेको आरोप वा सूचना रहेको हुनसक्छ। त्यसको अनुसन्धान र कारबाहीका लागि सम्बन्धित कानुनी बाटो छन्। तर कुनै व्यक्ति अपराधमा संलग्न रहेको आशंका वा आरोपकै आधारमा अर्को देशका सुरक्षाकर्मी वा कुनै अज्ञात समूहले नेपालको भूभागमा आएर उसको घरमा पेस्तोल ताक्दै नियन्त्रणमा लिएर जान पाउने हो कि होइन भन्ने प्रश्न छुट्टै हो।

अपराधी भए कानुनअनुसार पक्राउ गर्नुपर्छ। तर ‘अपराधी हुनसक्छ’ भन्दै राज्यको सीमाभित्र बन्दुक बोकेर आउने समूहलाई घरबाटै नागरिक उठाउने अधिकार सप्तरी प्रशासनले दिएको हो ? यही बिन्दुमा प्रहरीको जवाफ निर्णायक हुनुपर्ने हो।

२४ घण्टासम्म परिवारलाई स्पष्ट जानकारी किन छैन ?
प्रहरीले नेपाल र भारतका सुरक्षा निकायबीच समन्वय भइरहेको बताएको छ। तर घटनापछि झण्डै २४ घण्टासम्म पनि परिवारलाई अभिनन्दको वास्तविक अवस्था, उनलाई कसले नियन्त्रणमा लिएको हो र अहिले कहाँ राखिएको छ भन्ने स्पष्ट जानकारी नदिइएको परिवारको गुनासो छ।

यदि भारतीय प्रहरीले नै अभिनन्दलाई नियन्त्रणमा लिएको हो भने परिवारलाई आधिकारिक रूपमा जानकारी दिन किन ढिलाइ भयो ? यदि भारतीय प्रहरीले नियन्त्रणमा लिएको पुष्टि भएको छैन भने प्रहरी प्रमुखले कुन आधारमा त्यस्तो सूचना सार्वजनिक गरे ?

र यदि नेपाल प्रहरीसँग त्यसबारे आधिकारिक विवरण नै छैन भने ‘भारतीय प्रहरीले लगेको’ भन्ने सूचना कहाँबाट आयो ? यी प्रश्नको स्पष्ट जवाफ नआउँदा प्रहरीको भनाइले घटनाको रहस्य खोल्नुको सट्टा थप शंका जन्माउँछ।

घटनाको सबैभन्दा गम्भीर सम्भावना ‘यदि उनिहरु भारतीय प्रहरी रैनछन भने ?’ मानौँ, प्रहरीलाई प्राप्त सूचना गलत भयो। मानौँ, अभिनन्दलाई भारतीय प्रहरीले होइन, आपराधिक समूहले नै अपहरण गरेको हो। त्यस्तो अवस्थामा जिम्मेवार को हुन्छ ?

सीमाबाट करिब ५०० मिटरभित्र रहेको गाउँमा मध्यरातमा ६–७ जना हतियारधारी पुग्छन्। घरभित्र पस्छन्। परिवारका सदस्यको छातीमा पेस्तोल ताक्छन्। एक युवकलाई लिएर निस्कन्छन्। परिवारले प्रहरीलाई खबर गर्छ। तर प्रहरी घटनास्थलमा पुग्दैन। त्यसपछि समूह बलान नदीको बाटो हुँदै सीमातर्फ जान्छ।

यो घटनाक्रम सत्य हो भने सुरक्षा संयन्त्रको असफलताको एउटा गम्भीर चित्रभन्दा कम होइन। किनकि सुरक्षा निकायको उपस्थिति भनेको चौकीमा प्रहरी बस्नु मात्रै होइन। संकटको समयमा नागरिकले फोन गर्दा प्रहरी पुग्नु, सीमाबाट हुने सम्भावित आवतजावत रोक्नु, हतियारधारी समूहको पहिचान गर्नु र पीडित परिवारलाई तत्काल सुरक्षा दिनु पनि त्यत्तिकै महत्वपूर्ण हो।

अभिनन्दको खोजी जारी रहेको प्रहरीको भनाइले अहिलेको मुख्य दायित्व पूरा भएको प्रमाण दिँदैन। प्रहरीले खोजी मात्रै होइन, घटनाको प्रत्येक तहमा आफ्नो भूमिका पनि सार्वजनिक गर्नुपर्ने अवस्था आएको छ। र अन्ततः यो प्रश्न अभिनन्द यादवको मात्रै होइन—सीमावर्ती गाउँमा राति घरभित्र सुतिरहेका कुनै पनि नागरिकको सुरक्षाको प्रश्न हो।

यदि प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी भएको गाउँमा पनि पेस्तोलधारी समूहले घरबाटै नागरिक उठाएर लैजान सक्छ भने नागरिकले सुरक्षाका लागि राज्यसँग आखिर के अपेक्षा गर्ने ? अभिनन्दलाई कसले लग्यो भन्ने प्रश्नको जवाफ जति महत्वपूर्ण छ, त्यसभन्दा कम महत्वपूर्ण छैन—उनीलाई लैजाँदा राज्यको सुरक्षा संयन्त्र कहाँ थियो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट