एक समुहको शिकारीले हानेको गोली लागेर अर्को समुहको शिकारीको मृत्यु

काठमाण्डौं– डोटीको पूर्वीचौकी गाउँपालिका–६, गाँजरीका ३० वर्षीय अमर थापाको शुक्रबार बिहान स्थानीय घोत्नेगडा सामुदायिक वनमा गोली लागेर मृत्यु भयो। उनी स्थानीय एक सामुदायिक विद्यालयका कार्यालय सहयोगी हुन।

शिकार खेल्न भन्दै घरबाट करिब ५ किलोमिटरको दुरीमा रहेको वनमा पुगेका उनलाई दिपायल सिलगढी नगरपालिका–८, ल्वाडागडाका ३४ वर्षीय रामबहादुर साउदले चलाएको बन्दुकको गोली छातीमा लाग्यो। उनी ठाउँमै ढले र घटनास्थलमै ज्यान गुमाए।

स्थानीयका अनुसार अमर र रामबहादुर अलग–अलग समूहमा शिकार खेल्न गएका थिए। उनीहरुलाई एकअर्काको समुहका बारेमा जानकारी थिएन। उनीहरु आ–आफनै सुरमा जंगली जनावरको खोजी र प्रतिक्षामा थिए।

यत्तिकैमा करिब २० मिटर टाढाबाट रामबहादुरले ताकेर हानेको गोली अमरलाई लाग्यो र उनको मृत्यु भयो। रामबहादुरले बँदेललाई ताकेको गोली निसाना बिग्रिएर अमरलाई लाग्यो वा अमरलाई नै बँदेल सोचेर गोली चलाए भन्ने खुलिसकेको छैन। स्थानीयले भने अन्जानमा गोली लागेको अनुमान गरेका छन्।

प्रहरीले रामबहादुरसहित केही ब्यक्तिलाई पक्राउ गरेको छ भने घट्नास्थलबाट २ थान भरुवा वन्दुक पनि बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईका अनुसार गोली लागेर ज्यान गुमाएका अमरका श्रीमती, २ छोरा र २ छोरी छन्। गोली प्रहार गर्ने रामबहादुर पनि सामान्य परिवारका हुन्।

प्रहरीले घटनास्थलको विषयमा अनुशन्धान गरिरहेको डीएसपी भट्टराईले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *