विद्यार्थीका अगाडि हर्क साम्पाङले घुँडा टेकेः लिखित दुःख ब्यक्त गरेपछि आजको आन्दोलन रोकियो

इटहरी– मेयर हर्क साम्पाङले खानेपानी शुल्क र महशुलमा ९ सय प्रतिशत वृद्धि गरेपछि धरान केही दिनदेखि अशान्त छ। १० राजनीतिक दलले मेयरको मनोमानी विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन्।
उनीहरुले शुल्क र महशुलमा भएको वृद्धि खारेजीको माग गरिरहेका छन्। आन्दोलनकै क्रममा राजनीतिक दलका नेताहरुले मेयर अध्यक्ष रहेको खानेपानी बोर्डको कार्यालयमै तालावन्दी गरे। यति गर्दा पनि मेयर टसमस भएनन। वरु उनले कानुनी बाटो समाए।
मेयर साम्पाङले दलहरु तालावन्दी गरेको विषयमा उच्च अदालतमा रिट दायर गरे। अदालतले मेयर साम्पाङको पक्षमा अल्पकालीन आदेश गर्यो। अदालतले नै ताला खोल्न भनेपछि दलहरूले आफैले कार्यालयमा लगाएको ताला खोलिदिए।
दलहरुको चरणवद्ध आन्दोलन भने जारी नै थियो। दलहरूकै आह्वानमा बिहीबार विद्यार्थीहरु पनि आन्दोलनमा सहभागि भए। उनीहरुले दिनभर उपमहानगर परिसरमा भेला भएर नाराजुलुस गरे। केही आक्रोशित युवा विद्यार्थीले उपमहानगरपालिका कार्यालयको गेटमा तोडफोड गरे।
त्यस क्रममा प्रहरीसँग घम्साघम्सी पर्यो। ३ जना विद्यार्थी घाईते भए। तर, विरोध प्रदर्शन रोकिएन। यसैबीचमा आएर मेयर साम्पाङ आएर बार्ताका लागि आह्वान गरे। खानेपानीबारे आइतबार १० बजे वार्ता गर्ने कुरा भयो।
दलहरू वार्ता गर्न तयार भएर आन्दोलन छोड्ने अवस्थामा पुगे। तर, विद्यार्थीहरु राजनीतिक दलभन्दा एक कदम अगाडि वढे। प्रहरी दमनका विषयमा मेयरले लिखित माफी माग्नु पर्ने र बार्ताका लागि पनि लिखित आह्वान गर्नु पर्ने माग राखेर आन्दोलन जारी राखे। त्यसपछि दलका नेताहरु पनि विद्यार्थीको आन्दोलनमा साथ दिन बाध्य भए।
अन्त्यमा विद्यार्थीहरूमाथि भएको बल प्रयोगको घटनामा मेयरले लिखित दुःख प्रकट गरेपछि आजको प्रदर्शन रोकिएको कांग्रेस धरानका सभापति श्याम पोखरेलले बताए। मेयरले वार्ताका लागि भने लिखित रुपमा आह्वान गरेका छैननन्।
पोखरेलका अनुसार खानेपानीको शुल्क र महसुल वृद्धिको निर्णय खारेज नभएसम्म धरानमा आन्दोलन जारी रहनेछ।