गृहमन्त्री र आईजीपीलाई थाहै नदिई आफुलाई पक्राउ गर्न ओलीले वर्दिधारी परिचालन गरेको दुर्गा प्रसाईको खुलासा
काठमाण्डौं– नेकपा माओवादी हुँदै एमाले बनेर राजावादी अभियानमा लागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओली आफुलाई षडयन्त्रपूर्वक पक्राउ गर्न लागि परेको आरोप लगाएका छन्।
प्रसाईँले प्रधानमन्त्री पदको दुरुपयोग गर्दै पूर्वाग्रहपूर्ण ढंगले आफूलाई पक्रेर थुन्न लागिएको बताएका हुन्। प्रसाईले आज फेसवुकमा लामो स्ट्याटस लेख्दै गृहमन्त्री र आईजीपीलाई समेत थाहा नदिई आफुलाई पक्राउ गर्न वर्दिधारी परिचालन गरेको जनाएका छन्।
ओलीलाई हजुरबा भनेर बोलाउने गरेका प्रसाईंले फेसबुकमा लेखेका छन–‘मेरा हजुरबुबा केपी शर्मा ओली तपाईंले देशको मुखिया प्रधानमन्त्री पदको दुरुपयोग गरेर जनतामारा कु–कर्मलाई लुकाउन बिरोधी सिध्याउने खेलमा दुर्गा प्रसाईंलाई थुन्ने षड्यन्त्र रचिरहनु भएको छ।’
गृहमन्त्री रमेश लेखक र आइजीपी वसन्तबहादुर कुँवरलाई समेत थाहा नदिई अपहरण शैलीमा आफूलाई समात्ने योजनाको तानाबाना बुन्न प्रधानमन्त्री ओलीले प्रहरी खटाएको उनको आरोप छ। ‘प्रहरी नामका बर्दिधारी एमाले बढुवा खान देशभक्त बिचारको चिर हरण गर्न उद्दत छन् भन्दा बडो आश्चर्य लागेको छ’ उनले लेखेका छन्।
आफूलाई थुन्न चुनौती दिँदै उनले ओलीको तस्कर पोस्ने शासन जनताले ढालेरै छोड्ने चेतावनीसमेत दिए। बंगलादेशको उदाहरण दिदै प्रसाईंले एकजना जेल परे पनि घर–घरबाट ‘दुर्गा’ उठ्ने दिन टाढा नरहेको जनाएका छन्।
प्रसाईंले हजुरबुबा ओलीलाई माडवारीको पार्टनरको संज्ञा दिँदै बंगलादेशमा शेख हसिना लखेटिएजस्तै स्थिति भोग्नुपर्ने दाबी गरेका छन्। त्यो दिन निकट रहेको उनको भनाई छ।

