बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईका दाजु महेन्द्रले गरे आत्महत्या
दमक– बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले शुक्रबार झुण्डिएर आत्महत्या गरेका छन्।
बिर्तामोड नगरपालिका–५, महानन्द चौक नजिकै घर भएका प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर आत्महत्या गरेको खुलेको छ। काठमाण्डौंमा वस्दै आएका नरेन्द्रको खाली घरको दोस्रो तलामा गएर प्रसाई झुन्डिएको प्रहरीले जनाएको छ।
उनी बिर्तामोडको बीएण्डसी हस्पिटलका संस्थापक सञ्चालक हुन। उनीसहित दुर्गा प्रसाई र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो। नेम्वाङ र मृतक प्रसाई केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए।
महेन्द्र सुरुवाती दिनमा जमिनको कारोबार गर्थे। हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका उनले दुर्गा प्रसाईभन्दा अगाडि भ्रष्टाचारविरोधी अभियान संचालन गरेका थिए। पछि दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए।