३ घण्टाभित्र एकै बालिकामाथि २ ठाउँमा सामुहिक बलात्कारः ६ जना पक्राउ, १ जना फरार
दमक– झापाको अर्जुनधारा नगरपालिकामा १६ वर्षीया बालिकालाई जबलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एक जना भने अझै फरार छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी, अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी पक्राउ परेका हुन।
झापा प्रहरीका एसपी मिलन केसीका अनुसार शुक्रबार राति बालिकामाथि २ पटक बलात्कार भएको देखिएको छ। एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता देखिएको उनले बताए।
प्रहरीका अनुसार अर्जुनधारा ८ को खसी हटियामा रहेको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको देखिएको छ। बालिकालाई घुम्न जाने भन्दै बोलाएर हटियाको फलैचामा लगेर राती करिव सवा ८ वजे अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरले बालिकालाई बलात्कार गरेका थिए।
त्यसपछि राति ११ बजे अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा पु¥याई अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी, अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले किशोरीमाथि बलात्कार गरेको अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
होटलमा होटल मालिकसहित चारजना कामदारले बलात्कार गरेको देखिएको प्रहरीले जनाएको छ। राजवंशी होटल सञ्चालक तथा सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन्। तामाङ भने फरार छन्।
पीडित बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनी अहिले मेची प्रादेशिक अस्पतालमा उपचाररत छिन्। उनले शनिबार जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न मध्ये ६ जनालाई पक्राउ गरेको हो।
