रक्सीले धुत भएका समन्वय प्रमुख र कांग्रेस प्रवक्ताबीच सरकारी निवासमै कुटाकुट, दुवै घाईते
काठमाण्डौं– रक्सीको नसामा धुत भएका जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेसका जिल्ला प्रवक्ता पदम शाहविच आईतबार राती कुँवरको सरकारी निवासमै कुटाकुट भएको छ।
सँगै रक्सी खाएका कुँवर र शाहबीच ब्यक्तिगत विषयमा विवाद वढ्दै गएपछि राती साढे १० बजे कुटाकुट भएको हो। कुटाकुटमा शाहले रक्सीको बोतल प्रहार गर्दा कुँवरको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा ४ टाँका लगाइएको छ। शाहको भने हातमा चोट लागेको छ।
स्रोतका अनुसार राति जिल्ला समन्वय समितिको कार्यालय हाताभित्रै रहेको सरकारी निवासमा रक्सी पार्टीको आयोजना गरिएको थियो। पाटीमा उनीहरु दुईसहित अन्य ब्यक्ति पनि थिए। तर, दुई जनाबीच रक्सी खाएकै ठाउँमा कुटाकुट भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल पुर्याएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीले स्वास्थ्य परीक्षणमा पनि दुवैजनाले मदिरा सेवन गरेको पाइएको बताए।
दुवै कांग्रेसकै नेता हुन्। उनीहरुलाई बोलाएको बेला उपस्थित हुने सर्तमा प्रहरीले मुक्त गरेको जनाईएको छ।
