दुहवीमा छाला उद्योगको दुर्गन्धले गाउँमा पाहुना आउनै छोडे, किशोर–किशोरीको विवाह हुन छोड्यो
विराटनगर– सुनसरीको दुहबी नगरपालिका–६ मा रहेको युनाइडेट टैनरिज छाला उद्योग वर्षौदेखि नियम विपरित सञ्चालनमा रहेको खुलेको छ। ०४६ सालदेखि सञ्चालनमा रहेको उद्योगले न्यूनतम मापदण्ड समेत पुरा नगरेको खुलेको हो।
उद्योगको दुर्गन्धका कारण आसपासका वस्ती विस्थापित हुने अवस्थामा छन्। त्यसैले स्थानीवासीले उद्योग अन्यत्र सार्न माग गर्दै आन्दोलन गरिरहेका छन्। करिव १ महिनाको आन्दोलनपछि कोशी प्रदेश सरकारले पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव ध्रुवकुमार भण्डारीको नेतृत्वमा टोली नै बनाएर उद्योगको अनगुमन गरेको थियो।
२ भदौमा गरिएको अनुगमनका क्रममा छाला उद्योगले केमिलसहितको फोहोर पानी प्रशोधनका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ नराखेको र प्रारम्भिक वातावरणीय परीक्षण (आईई) नै नगरेको फेला परेको थियो। छाला उद्योग सञ्चालनका लागि पुरा गर्नु पर्ने न्युनतम मापदण्डसमेत पुरा नगर्दा दुर्गन्ध फैलिएको टोलीको निस्कर्ष थियो।
भद्रगोल अवस्था देखेपछि टोलीले तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको थियो। ‘मापदण्ड नै पूरा नगरेको उद्योग वर्षौदेखि कसरी चलिरहेको छ ? भन्ने प्रश्न उठ्यो’ टोलीका एक सदस्यले भने–‘त्यसपछि न्यूनतम सर्त पुरा गरेर मात्र सञ्चालन गर्न भन्दै उद्योग वन्द गर्न भनिएको हो।’
तर, सादव अख्तर र मनोज शर्मा कुइँकेलले पहुँचका आधारमा अहिले पनि उद्योग सञ्चालन गरिरहेको संघर्ष समितिका संयोजक सुरजकुमार पासवानले बताए। उद्योग सञ्चालकले वर्षौदेखि स्थानियको आग्रह र राज्यको निर्देशनलाई लत्याएरै आफनो स्वार्थ पुरा गरिरहेको उनको भनाई छ।
पासवानका अनुसार दुर्गन्धकै समस्याका कारण २ वर्षअघि पनि स्थानीयले उद्योगको विरोधमा आन्दोलन गरेका थिए। ‘ट्रिटमेन्ट प्लान्ट’ राख्ने सहमतिपछि स्थानीयले उद्योग सञ्चालन गर्न दिएका थिए। तर, त्यतिवेला गरेको सहमति अहिलेसम्म कार्यान्वयन नभएको संयोजक पासवानको गुनासो छ।
उद्योगका कारण दुर्गन्धित हावामा सास फेर्न समेत समस्या भएको स्थानीयको गुनासो छ। यतिमात्रै होईन, केमिकलसहितको फोहोर पानी सिधै बुढिखोलामा मिसाईएको छ। यसले एकातर्फ मानव स्वास्थ्यमा गम्भिर असर गरिरहेको छ भने सामाजिक प्रतिष्ठा समेत दाउमा लागेको छ। गाउँमा माहामारीको खतरा र पशुचौपायामा अनेक प्रकारका रोग देखिएको छ।
उद्योगको दुर्गन्धले आसपासका बस्ती मात्रै नभई कोशी राजमार्गसम्म प्रभावित बनाई रहेको छ। गाउँमा पाहुना आउन छाडेको र किशोर/किशोरीको विवाह गर्न समेत समस्या हुन थालेको संघर्ष समितिका सचिव वासुदेव मण्डलले गुनासो गरे।
उद्योगका सञ्चालक सादव अख्तरले भने आफुविरुद्ध योजनावद्ध रुपमा आन्दोलन भइरहेको बताएका छन्। प्रारम्भिक वातावरणीय प्ररीक्षण (आईई) नगरिएको विषय भने उनले स्वीकार गरे। फोहोर पानी प्रशोधनका लागि पनि ‘प्लान्ट’ राख्ने तयारीमा रहेको उनको भनाई छ। अख्तरका अनुसार उद्योगले छालाको तयारी र कच्चा सामग्री उत्पादन गर्छ।

