अमेरिकामा मुना पाण्डेको हत्या प्रेम प्रकरणमा नभई लुटपाटका लागि भएको खुलासा
काठमाण्डौं– नर्सिङ अध्ययनका क्रममा ३ वर्षअघि अमेरिकाको टेक्सास पुगेकी २१ वर्षीया मुना पाण्डेको हत्या प्रेम प्रकरणमा नभई लुटपाटका क्रममा खुलेको छ। उनको हत्या आरोपमा ह्युस्टन प्रहरीले ५१ वर्षीय बब्बीसिंह साहलाई पक्राउ गरिसकेको छ।
साहको बारेमा धेरै कुरा सार्वजनिक नभएपनि उनले लुटपाटका क्रममा गोली हानी मुनाको हत्या गरेको अदालती कागजातमा उल्लेख गरेका छन्। बब्बीविरुद्ध २६२औँ स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ।
जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो। जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ। यस अभियोगमा उनलाई अब सेप्टेम्बर ३ मा अदालतमा पेस गरिने जनाईएको छ।
बब्बीविरुद्ध गैरकानुनी रूपमा हतियार बोकेको अभियोगमा पनि मुद्दा चलेकाले उक्त अभियोगमा उनलाई सेप्टेम्बर ५ मा अदालत पेस गरिनेछ। साहलाई बुधबार (अगस्ट २८) राति ८ बजे उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा प्रहरीले पक्राउ गरेको हो।
मुना पाण्डे गत सोमबार (अगस्ट २६) साँझ गोली लागेको अवस्थामा आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन्। उनको शरीरमा ३ वटा गोली लागेको जनाईएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो।
स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन्। सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन्।
