प्रदेश सांसदका छोराले चलाएको मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालकसँग छैन लाईसन्स
विराटनगर– कोशी प्रदेश सभा सदस्य ललिताकुमारी चौधरीका छोराले चलाएको मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। चालकको लाईसेन्स समेत नभएको खुलेको छ।
मोरङको ग्रामथान गाउँपालिका–४ निवासी सांसद चौधरीका छोरा १८ वर्षीय अक्षत माझीले चलाएको प्रदेश १–०२–०४४ प ८४४ नम्बरको मोटरसाइकलको ठक्करबाट बाटो क्रस गर्दै गरेका पैदलयात्री झापाको चारआली घर भएका २४ वर्षीय आकाश मण्डलको मृत्यु भएको हो।
बूढीगंगा गाउँपालिका–१ मा कोठा भाडा लिएर स्थानीय अमन होटलमा काम गर्दै आएका मण्डललाई कोशी राजमार्गअन्तर्गत बूढीगंगा–१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि ५ भदौको साँझ करिव सवा ७ वजे मोटरसाईकलले ठक्कर दिएको थियो।
तीव्र गतिको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मण्डलको विराट शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक माझी पनि घाइते भएका छन्। उनको टाउको, अनुहार, हातखुट्टालगायतमा चोट लागेको छ। उनी विराट शिक्षण अस्पतालमै उपचार छन्। डीएसपी वस्नेतका अनुसार अक्षतसँग मोटरसाइकल चालक अनुमति पत्र (लाइसेन्स) छैन।
लाइसेन्स नभएको ब्यक्तिले लापरबाहीपूर्वक मोटरसाइकल चलाउँदा दुर्घटना भएको उनको भनाई छ। मोटरसाइकल पनि अक्षतकै नाममा छ। अक्षतविरुद्ध आकाशका परिवारले बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन्।
ललिताकुमारी सत्तारुढ नेकपा (एमाले)को तर्फबाट समानुपातिक सांसद बनेकी हुन्।

