पूर्व एआईजी ज्ञवालीले कमिशन र घुसबाट १८ करोड आर्जन गरेको दाबीसहित अख्तियारमा उजुरी
काठमाडौँ– पूर्व एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) श्यामलाल ज्ञवालीले सुन तस्करसँग मिलेर आर्थिक अनियमितता गरेको आरोपमा कारवाही गर्न माग गर्दै अख्तियारमा उजुरी परेको जनाईएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतका अनुसार ललितपुरका विनायक अर्यालले ज्ञवाली विरुद्ध आयोगमा उजुरी दर्ता गराएका हुन। उजुरीमा ज्ञवालीले आर्थिक अनियमितता, लेनदेन र घुसबाट आर्जन गरेको १८ करोड रूपैयाँ विभिन्न बैंकमा राखेको उल्लेख छ।
यसैगरी ज्ञवालीले मदिरा कम्पनीमा करोडौंँ लगानी रहेको तथ्य भेटिएको भन्दै छानवीन गरेर कारवाही गर्न माग गरिएको छ। उजुरीमा पुर्व एआईजी ज्ञवालीले दुबईमा रहेको एमएस ट्रेडर्स नामको कम्पनी सञ्चालन गर्ने महेन्द्र सिंह मार्फत करोडौ लगानी गरेको दाबी गरिएको छ।
भारतको बैङलौर स्थायी घर भएका महेन्द्र सिंह दुबई बस्दै आएका छन्। उनको उनी सुन तस्करी, क्रिप्टो करेन्सी लगायत विवादित व्यवसायमा ठुलो धनराशी लगानी रहेको जनाईएको छ। भक्तपुरका व्यापारी श्रीभक्त कासिछवासँग पनि पुर्व एआईजी ज्ञवाली र उनका दाजु पूर्व आईजिपी ठाकुर प्रसाद ज्ञवालीको लगानी रहेको आरोप छ।
ज्ञवालीले नागरिक अस्पताल, योयो पार्टी प्यालेस, ड्राइभिङ सेन्टरमा समेत अबैध सम्पति लगानी गरेको उजुरीमा उल्लेख छ। ज्ञवालीले ३१ पटकसम्म सुन तस्करसँग मोबाइलमा कुराकानी गरेको रेकर्डसमेत उजुरीका साथ पेश भएको जनाईएको छ।