डडेलधुरामा बस दुर्घटना हुँदा शिशुसहित ४ जनाको घट्नास्थलमै मृत्यु, १२ जना घाईते
काठमाडौँ– कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको यात्रुबस मंगलबार राती डडेलधुरामा दुर्घटना हुँदा एक शिशुसहित ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
ना ८ ख १०७८ नम्बरको बस मंगलबार राती साढे ११ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो। दुर्घटनामा परेर दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्स्पेक्टर उपेन्द्रबहादुर बमका अनुसार मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का जयमति बोहरा (४५), सोही ठाउँकी कमला बोहरा (२०) उनका नाबालक छोरा र सोही ठाउँका सहदेव बोहरा (२२) छन्।
दुर्घटनामा घाईते भएका १२ जना मध्ये गम्भीर घाइते बस चालक पुर्चौंडी–८ का वीरेन्द्र बोहरा (२४) लाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
घाईते हुनेहरुमा पुर्चौंडी नगरपालिका–७ का नवराज साउँद (२४), वडा नं. ६ का राजेन्द्र साउँद (२४), कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का दिनेश साउँद (२५), डडेल्धुराको आलिताल गाउँपालिका–१ का मुकुन्द बोहरा (२१), दार्चुलाको मार्मा गाउँपालिका–५ का विमला महता (३४), कृष्णपुर नगरपालिका–५ की धनमती साउँद(६५) छन्।
यसैगरी, पुर्चौंडी–८ का पदमबहादुर बोहरा (४२), वडा नं. ७ का नवराज रतौकी (२८), सुरेन्द्र रतौकी (२०), वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा घाइते भएको प्रहरीले जानकारी दिएको छ। इन्स्पेक्टर बमका अनुसार बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको जनाइएको छ। चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
