इजलासमा रविले भनेः मैले श्रीमानलाई पाईलट भन्नु र मलाई सहकारी ठग भन्नु एउटै हो

पोखरा– सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विहिबार म्याद थपका लागि प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो।
प्रहरीले २५ दिनको म्याद थप्न माग गर्यो। ४ घन्टा पेचिलो बहस भयो। अन्ततः जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविसहित ३ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति दियो। अनुमतिअघि वहसका क्रममा सरकार पक्षको दाबी सुनेपछि रविले आफैंले कुरा राख्न चाहे। न्यायाधीशले अनुमति दिए। रवि सुरुदेखि नै इजलासमा आक्रोशित रुपमा प्रस्तुत भए।
टीभी प्रस्तोता हुँदाकै झल्को दिने गरी प्रस्तुत भएपछि रविलाई न्यायाधीश पौडेलले चर्को नबोल्न आदेश दिनु परेको थियो। न्यायाधीश पौडेलले भनेका थिए–‘आफ्नो कुरा राख्दा आक्रोशित हुँदै चर्को बोल्नु पर्दैन, यो अदालत हो।’ त्यसपछि सम्हालिएका रविले माफी मागे।
बयानका क्रममा उनले आफू अन्यायको शिखरमा उभिएर न्यायको याचना गरिरहेको बताएका थिए। आफूलाई राज्यले हद गरेको, राज्यले दम्भ देखाएको, बयान नलिइएको, छलिएको लगायतका आरोप लगाएका थिए।
यस्तो छ रविले अदालतमा दिएको बयानः
प्रहरी नायव उपरीक्षक वसन्त शर्माले ‘तपाईंले कुन कागजमा हस्ताक्षर गर्नुभयो?’ भनेर प्रश्न गरेपछि रवि लामिछानेले भन्नुभयोः
जहाँ पनि तपाईंको चल्छ, कोर्टमा पनि तपाईंको चल्छ? एउटा कागज साइन गर्ने मान्छेलाई अन्याय गर्ने हद हुन्छ श्रीमान। हद गरेका छन श्रीमान यिनीहरुले मलाई हद गरेका छन्। मलाई यिनीहरुले एउटा टेलिफोन गर्न दिँदैनन्। अनुमति पाउँ, अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान्। हद गरेको छ राज्यले। अहिले भर्खर के काजगमा साइन गरेको भनेर सोध्न आउनु भएको उहाँ। तपाईहरु मलाईं कागज हस्ताक्षर गर्न दिनुहुन्न!
६ दिनदेखि हिरासतमा छु। चार घण्टाभन्दा बढी बयान भएको छैन। प्रश्नहरु दोहोरिएका छन्, तेहेरिएका छन्। मैल श्रीमानलाई पाईलट भन्नु र मलाई सहकारी ठगीको मुद्दा लाग्नु एउटै हो श्रीमान्। सम्मानीत संसदीय समितिको त्यो ठूलो प्रतिवेदनको कभरपेज पढ्नु भयो होला कालो कोट लगाउने महासयले। एकपटक फेरि यही इजलासमा पढेर हेरियोस्, सहकारी ठगीमा मेरो संलग्नता कहाँ, कुन अक्षरमा लेखिएको छ?
राज्य दम्भ देखाउछ, बयान लिँदैन, छल्छ। अनि आदेश दिईएको छ, प्रहरीलाई जागिर जाला, सरुवा होला भन्ने डर छ। डर देखाइसकियो, चितवनमा सीडीओ र एसपी फालियो अब यहाँका त्राहीमाम हुनुहुन्छ। मलाई आँखाभरी आँशु पारेर ‘हामीलाई थाहा छ तपाईंको केही पनि छैन तर, के गर्नु हजुर आदेश मान्नुपर्छ’ भन्नुहुन्छ उहाँहरु नै। मैले यहाँ नबोलेर कहाँ बोल्ने? चरम अन्याय भैरहेको छ। सुनुवाई कुन न्यायाधीशकोमा पर्छ र कुन न्यायाधीश कसले नियुक्ति गरेको हो भन्ने आधारमा अदालतलाई प्रभावित पार्ने प्रयास गर्छौ भन्दै हिंड्ने पनि छन्। तर मलाई तिनमा विश्वास छैन। मलाई श्रीमान् माथि विश्वास छ। मलाई म्याद थप हुन्छ बहस त गर्ने मात्र हो भनिएको छ। तर, मलाई यसमा पनि विश्वास छैन। किनकी, एक्स्ट्रा अर्डिनरी विषयमा एक्स्ट्रा अर्डिनरी कुरा हुन्छ। गलत तथ्यहरु दिइएको छ, गलत कुराहरु भन्दै आईरहेको छ। श्रीमान् मलाई तर्साइएको छ। सहकारीको सर्भरको कुरा गरिएको छ। नयाँ के तथ्य छ? अनि, कुन चाहीँ प्रश्न लुकेको छ यहाँ? सर्भर बरामद भएपछि मसँग लिइएको बयान यहीँ छ। सर्भरमा के भेटियो भन्ने बयान पनि भइसकेको छ।
श्रीमान्, हिजो राति फोन गरीगरी बोलाएर, लाइन लागाएर उजुरी दिन आउ भनेर प्रहरी कार्यालयमा उजुरी गर्ने मान्छे बोलाइएको छ। यो मेरो आक्रोश हो, मैले जे महसुस गरेको छु। आज मैले श्रीमानसँग भन्नु पर्ने हुन्छ, कहाँसम्मको अन्याय गरिएको छ भन्ने कुरा। मेरो पक्षमा कार्यक्रम हुँदा खेरि सहकारी ठगीलाई कारबाही गर भन्दै पार्टीका कार्यकर्ता मात्र होइन जिम्मेवार नेताहरुलाई सडकमा पठाउँछन।
यो देशले आशा गरेका नयाँ मान्छे बोकेर बसेका छौं। उनीहरु शान्त रुपमा आन्दोलन गरेर बसेका छन्। शान्त आन्दोलनमा पार्टीका मान्छे पठाएर बिथोल्ने काम हुन्छ। वृद्ध बा–आमाहरु आएका छन्। त्यस्ता मान्छेलाई बिथोल्ने कार्य हुन्छ। अनि हिंसा भड्काउने कार्य हुन्छ। के आफ्नो बारेमा शान्त रुपमा आवाज उठाउन पनि पाईदैन श्रीमान्? स्वतन्त्र रुपमा प्रदर्शन गर्न पनि पाईदैन श्रीमान? शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरिन्छ र भनिन्छ नयाँ दल पनि उस्तै हुन्!
दुई तिहाईको सरकार मेरोविरुद्ध षड्यन्त्र गरिरहेको छ। यतिखेर न्यायालय बाहेक कसैको आशा हुन सक्दैन श्रीमान। मलाई न्यायालयको आशा छ, त्यसकारण आज यो अदालतमा मैले केही कुरा भनेको हुँ श्रीमान।
एउटा जाँच एउटा कक्षामा मान्छेले कति पटक दिन्छ श्रीमान? म यो ठूलो आवाजका लागि क्षमा चाहान्छु, असाध्यै धेरै पीडा भएर नै आवाज ठूलो भएको हो। तत्कालिन प्रधानमन्त्रीले प्रहरीलाई बोलाएर, सीआइवीलाई बोलाएर, महान्यायाधिवक्तालाई बोलाएर सोधेर, तिनले दिएका पत्रको आधारमा उजुरी छैन, मुद्दा छैन, कतै प्रतिवादी होइन भनेर संसदमा भन्नु भएको होइन। त्यतिखेरका सत्तासाझेदार अहिलेका प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनेका कुरा अहिले काम लागेन? सहकारी छानबिन संसदीय समितिका सभापतिले विभिन्न टेलिभिजनमा उहाँको संलग्नता छैन, केही कतै देखिएन, संस्थागतमा कुनै निर्णय गरिएको छैन भनेर बताउनु भएको होइन? प्रहरी प्रमुखले संसदीय समितिमै बयान दिनुभएको होइन? गर्न बाँकी केही छैन श्रीमान। तरपनि सहकारी ठगेको मुद्दा लगाइएको छ, संगठित अपराधसमेत भनिएको छ।
म बिदेशमा बेचिएका चेलीहरुलाई देशमा ल्याउने संगठित अपराधमा लागेको रहेछु श्रीमान् सजाय पाऊँ। म बिदेशमा अलपत्र परेका नेपाली दाजुभाइलाई नेपालमा ल्याउने संगठित अपराधमा लागेको मान्छे हो, सजाय पाऊँ श्रीमान्। म बाढीले बगाएको बस्ती मधेसमा बनाउने संगठित अपराधमा हिंडेको अभियुक्त हुँ, सजाय पाऊँ श्रीमान्। म दुर्गम कालिकोटमा अस्पताल बनाउन गएको मान्छे हो, मलाई त्यो संगठित अपराधमा पनि मुद्दा चलाइयोस् श्रीमान।
श्रीमान्, जुन तहको राजनीति र जुन तहको अन्याय ममाथि भएको छ, संसारले हेर्दै छ। मैले आफूलाई सम्हालेर बसेको छु। एउटा परिस्थिति बनेपछि श्रीमान् समक्ष आफ्नो कुरा राख्न पाएँ। यो मेरो लागि सौभाग्यको कुरा हो। तर, मैले केही पनि गर्न नहुने!
मैले चुनाव लड्न नहुने, सांसद÷मन्त्री हुन नहुने। अनि, म नागरिक हुन नहुने। विना आधार र प्रमाण म हिरासतमा बस्नु पर्ने? ६÷६ दिनसम्म राखेर मसँग जम्मा ४ घण्टा बयान लिइएको छ। ल्याएर राख्ने, लिङ्गरिङ गर्ने अनि बयान भएको छैन भनेर म्याद थप्न माग्ने?
सल्लाह भए बमोजिम, सरकारले घेराबन्दी गरे बमोजिम मलाई अन्य थप मुद्दा, सम्पत्ति शुद्धीकरण, यो शुद्धीकरणसम्म लगाउने? सहकारी पीडित कतिले आत्महत्या गरे, मलाई आत्महत्या दुरुत्साहनको पनि अभियोग लगाइदिनुस्। यो चाँही किन छोड्नु र श्रीमान?
मेरो आक्रोश श्रीमानप्रति होईन। उजुरी परेका तिनै सहकारीहरु ठाउँ–ठाउँ पुर्याउने कुरा गरिँदै छ। मलाई साहारा, सुप्रिम, सानो पाइला सहरकारी भएका ठाउँमा लैजाने कुरा छ। श्रीमान् मैले अब दिनुपर्ने कतिवटा जाँच बाँकी छ?
म अन्यायको शिखरमा उभिएर न्यायको आशा गरेर श्रीमानतर्फ हेरेर बसिरहेको छु। नियमित भएको प्रक्रियाले के भन्छ मलाई थाहा छैन। मलाई न्यायालयबाहेक अरु केही विश्वास, भरोसा र आश छैन।
यतिखेर जब म प्रतिपक्षमा छु, जतिखेर देशमा दुई तिहाईको शक्तिशाली सरकार छ त्यो शक्ति नागरिकको वा अरु कसैको मुख थुन्न वा अन्याय गर्न दुरुपयोग नहोस्। यो बेलामा कोर्ट अझ बढी सक्रिय हुनेछ भन्ने विश्वास लिन्छु। म फेरि पनि पीडाका कारण आक्रोशमा बदलिएको अभिव्यक्ति स्वीकार गरिदिनुहुन्छ भनेर बिनम्रपूर्वक क्षमा माग्दै आफ्नो कुरा टुग्याए श्रीमान।