ब्रेक फेल भएको ट्रकले अगाडिको ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु, सहचालक घाईते
काठमाडौँ– पाल्पामा दुईटा ट्रक ठोक्किँदा गएराती १ जना चालकको मृत्यु भएको छ। रम्भा गाउँपालिका–३ अगाहखोलामा एउटा ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
बुटवलबाट पोखरा जाँदै गरेको ना१क ७१२१ नम्बरको ट्रकलाई राति करिब ११ बजे लु१ख ९३५१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा ठक्कर दिने ९३५१ नम्बरको ट्रकका चालक रम्भा गाउँपालिका–३ का भुवन सिंह राना (२३) को मृत्यु भएको हो।
दायाँ खुट्टा च्यापिएको अवस्थामा उद्धार गरेर उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए।
सोही ट्रकका सहचालक स्याङ्जाको वालिङ नगरपालिका १० सन्जित खवास थापा (२१) घाईते भएका छन्। उनको अवस्था सामान्य छ। ना१क ७१२१ नम्बरको ट्रकका चालक स्याङ्जाको वालिङ नगरपालिका ९ का गुप्तबहादुर गुरुङ (५६) भने सकुशल छन्।
ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
