बसको ठक्करबाट साईकल यात्रीको मृत्यु, आक्रोशित स्थानीयले बसमा आगो लगाए
इटहरी– सुनसरीको खनारमा आज यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
इटहरीबाट कोशी राजमार्ग हुँदै विराटनगर जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले खनारको शान्ति चोकमा केही बेरअघि साइकल यात्रीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट उनको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन।
दुर्घटनापछि भागेको बसलाई स्थानीयले नियन्त्रणमा लिएर आगो लगाएका छन्। आगजनीबाट बस पूर्णरूपमा ध्वस्त भएको छ। आक्रोसित स्थानीयले बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै रोकेर यात्रु भित्र हुँदै आगो लगाएका हुन्।
बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए। दुर्घटनालगत्तै खनार क्षेत्र तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीयले जानकारी दिए।
बस चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।
