सिरहामा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको कारमा डेढ क्विण्टल गाँजा, कार चालक फरार

लहान— सिरहामा गाँजा तस्करीमा संलग्न कार र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा परेको कारवाट प्रहरीले झण्डै डेढ क्विण्टल गाँजा बरामद गरेको छ।
सिरहा प्रहरीका अनुसार शनिवार साँझ करिव ६ बजे पश्चिम जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट निस्किएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो।
त्यसपछि घट्नास्थलमा पुगेको प्रहरीले उद्धार र सुरक्षाका क्रममा कारमा गाँजा बरामद गरेको हो। सिरहाका प्रहरीका एसपी रमेश पण्डितका अनुसार कारबाट ५ वटा पोकामा १ क्विन्टल ३० किलो गाँजा बरामद भएको छ।
स्थानीयका अनुसार, दुर्घटनामा परेलगत्तै कार चालकले कारबाट गाँजा र नम्बर प्लेट झिकेर ट्याक्सीमा लोड गर्न खोजेका थिए। तर, स्थानीयहरू भेला हुन थालेपछि उनी त्यसै भागेको जनाईएको छ।
कार र ट्रक तथा ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका कार चालकको प्रहरीले खोजी गरिरहेको छ। घट्नाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।