सहकारी ठगी प्रकरणकी अभियुक्त अञ्जलाको विदा सकियो, श्रीमानको पत्रलाई विद्यालयले टेरेन
विराटनगर— सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला करिव २ सातादेखि फरारको सूचिमा छिन्।
सहकारीकी पूर्वसञ्चालकसमेत रहेकी उनी आफूले पढाउँदै आएको विद्यालयमासमेत १ सातादेखि हाजिर भएकी छैनन्। कोईराला विराटनगरस्थित महेन्द्र रात्रि माविकी शिक्षिका हुन। मोरङको धनपालथान–३ स्थित उमा–गौरी कृषि सहकारी ठगी प्रकरणमा कोईरालाहित २६ जनाविरुद्ध २७ मंसिरमा मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालयले उमा–गौरी कृषि सहकारीकी पूर्व सञ्चालक कोइरालासहित सहकारीका वर्तमान तथा पूर्वसञ्चालकसमेतलाई अभियुक्त बनाएको छ। जसमा साढे २२ करोड रुपैयाँ बिगो र ६ देखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ।
मुद्दा दायर भएपछि पनि कोईराला विद्यालय जाँदै थिईन। २८ मंसिरमा विद्यालयमा आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको कार्यक्रममा पनि उनी सहभागी भएको देखिएको छ। त्यसपछि उनले १ पुसमा ५ दिनको बिदा स्वीकृत गराएकी थिईन। विद्यालय प्रशासनले दिएको जानकारी अनुसार ६ पुसमा विदा सकिए पनि उनी विद्यालय फर्किएकी छैनन्।
यता, अञ्जलाको विदा थपका लागि श्रीमान् पोखरेलले गत मंगलबार इमेलबाट विद्यालयमा पत्र पठाएका थिए। प्रधानाध्यापक झङ्कप्रसाद पराजुलीका अनुसार त्यो पत्रमाथि विद्यालयले कारवाही गरिसकेको छैन।
प्रहरीले गरेको अनुसन्धानमा उमा–गौरी कृषि सहकारी संस्थाका ८ हजार ८ सय ४२ जना सेयर सदस्यहरूको ३ करोड ८ लाख रुपैयाँ र ७ सय ७ ऋणीहरूको २४ करोड ३० लाख रुपैयाँ हिनामिना भएको खुलेको छ। जसमध्ये ८ करोड असुल भएको, १६ करोड असुली हुन बाँकी रहेको देखिएको छ।

