रवि लामिछानेको नाममा १ करोड कर्जा देखाईएको आन्तरिक फारमको हस्ताक्षर नक्कली, के हुन्छ अब ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम देखाएर कास्कीको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर किर्ते भएको देखिएको छ।

विवादित कर्जाका विषयमा अनुशन्धान गरिरहेको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट लामिछानको दस्तखत नक्कली भएको पुष्टि भएको छ। प्रहरीले गोर्खा मिडियामा गएको उक्त कर्जालाई समेत ठगीको बिगो मानेर लामिछाने विरुद्ध अभियोग दायर गराएको छ।

तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको प्रहरीकै फरेन्सिक ल्याबको प्रतिवेदनमा उल्लेख छ। बुधबार कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसका क्रममा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पनि उक्त कर्जा खाता कृत्रिम रहेको स्वीकारेकी छिन्।

न्यायाधीश नीतिज राईले सहकारीबाट लामिछानेको नाममा एक करोड रकम गएकोमा उनको इन्कारी बयान सम्झाएपछि काफ्लले खाता कृत्रिम रहेको बताएकी हुन। अनुसन्धानको क्रममा उक्त रकम लामिछानेले कुनै बैंक खातामार्फत वा नगद लिएर व्यक्तिगत हिसाबमा खर्च नगरेको प्रमाणित भएको छ।

लामिछाने पक्षका वकिलहरूले गोर्खा मिडियाको खातामा जम्मा भएको रकम लामिछानेले निजी रूपमा प्रयोग नगरेको र उनीमाथि एक करोड रकमको बिगो लगाउनु बदनियतपूर्ण भएको बताउँदै आएका छन्।

०७७ जेठ र असारमा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आइएमई बैंक खातामा जम्मा भएको एक करोड रुपैयाँ रवि लामिछानेको नाममा कर्जा देखाइएको थियो। तर, प्रहरी अनुसन्धानकै क्रममा सो हस्ताक्षर लामिछानेको वास्तविक हस्ताक्षरसँग मेल नखाएको उल्लेख छ।
प्रहरीले सरकारी वकिल कार्यालयमा पठाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा उक्त खातामा भएको हस्ताक्षर रवि लामिछानेको हस्ताक्षरसँग मेल नखाएको फरेन्सिक रिपोर्ट पनि समावेश छ। तर, सरकारी वकिलले मुद्दा अभियोजना गर्ने क्रममा भने त्यो रिपोर्ट समावेश नभएको पनि खुलेको छ। स्रोतका अनुसार प्रहरीले वकिललाई दिएको फरेन्सिक रिपोर्ट अदालतमा भने भेटिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट