धरानको बराह सहकारीका अध्यक्ष र सञ्चालक फरार भएपछि उनीहरुका श्रीमती पक्राउ, ९ जनामाथि अनुशन्धान हुँदै
विराटनगर– सुनसरीको धरानस्थित बराह ग्रुप अफ कम्पनीद्वारा सञ्चालित बराह बचत तथा ऋण सहकारी संस्था लिमिडेटका अध्यक्ष मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया र सञ्चालक गंगाबहादुर कालिकोटेकी श्रीमती सरितालाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगीको आरोप लागेपछि अध्यक्ष मानबहादुर र सञ्चालक गंगाबहादुर फरार भएपछि प्रहरीले उनीहरूका श्रीमतीलाई १३ पुसमा हिरासतमा लिएको हो। तर, सहकारी ठगीमा जतनमायाँ र सरिताको संलग्नता पुष्टि भईनसकेको प्रहरी स्रोतले जनाएको छ। श्रीमान फरार भएका कारण मात्रै उनीहरुलाई पक्राउ गरिएको हो।
पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले मानबहादुर र गंगाबहादुरलाई खोजिगरिरहेको थियो। तर, दुवैलाई फेला पार्न नसकेपछि जाहेरीमा नाम किटान भएका सरिता र जतनमायाँलाई पक्राउ गरिएको हो। प्रहरीले दुई संचालकका श्रीमतीसहित नौजनामाथि अनुसन्धान गरिरहेको छ।
सरिता र जतनमायाँ पक्राउ परेपछि धरान उपमहानगरपालिका– १७ का पवन विश्वकर्माले १६ पुसमा उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए। तर, न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र कृपासुर कार्कीको १९ पुसको संयुक्त इजलासले त्यो रिट खारेज गरिदिएको छ।
सहकारीको १ अर्ब १८ करोड ३६ लाख ११० रुपैयाँ वचत रकम ठगी भएको भन्दै ६ सय ५४ पीडितले ६२ वटा जाहेरी प्रहरीमा दर्ता गराएका छन्। प्रहरीले चार्टन एकाउन्टेन्ट विज्ञसहितको टोली झिकाएर अनुसन्धान गरिरहेको छ।
भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने (विश्वकर्मां)ले २०५२ सालमा बराह ज्वेलरी इन्टरप्राइजेज खोलेका थिए। बराह ज्वेलरी इन्टरप्राइजेज विस्तार गर्दै बराह ग्रुप अफ कम्पनी खोलिएको थियो। संस्थापक इन्द्र लामिछाने (विश्वकर्मा) ०६९ सालको माघमा हङकङमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। बराह ग्रुपको अध्यक्ष शिव लामिछाने(विश्वकर्मा) इन्द्रका छोरा हुन्। ठगी आरोपमा उनी पनि फरार छन्।
बराह ग्रुप अफ कम्पनी मातहत २८ भन्दा बढी कम्पनी छन्। ती कम्पनीले देशभरबाट १४ अर्बभन्दा बढी रकम ठगी गरेको अनुमान छ। धरानका बचतकर्ताको मात्रै ९ अर्ब बढि रकम अपचलन भएको प्रहरी स्रोत बताउँछ। धरानका १३ हजार पाँच हजार ७८ जना साधारण बचतकर्ताले पाँच हजारदेखि एक करोडसम्म बचत गरेका छन्।
लामिछाने परिवारका सदस्यले धरानमा सञ्चालन गरेको बराह बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले ६८ करोड ८३ लाख १० हजार ८१६ रुपैयाँ बचत गरेको हिसाब संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले प्रतिनिधिसभाको संसदीय छानविन विशेष समितिमा बयानका क्रममा पनि प्रस्तुत गरेका थिए। सहकारीको ऋण लगानी ७१ करोड ५८ लाख ६४ हजार ५३७ रुपैयाँ देखाइएको छ। लगानीमध्ये ४१ करोड तीनलाख रुपैयाँभन्दा बढी नियम विपरीत आफ्नै कम्पनीमा लगानी भएको छ।
यो पनि,

