एनआईसी एसिया वैंकको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी पनि उँधो लाग्यो

काठमाडौँ– ‘बैंक पनि साथी पनि– राम्रो पनि हाम्रो पनि’ भन्दै ग्राहक तानिरहेको एनआईसी एशिया बैंक लिमिटेडका लागि चालु आर्थिक वर्षको दोस्रो त्रैमास भने दुःखदायी सावित भएको छ।

बैकंको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.०३ प्रतिशतले घटेको छ। चालु आवको पुस मसान्तसम्ममा बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा उल्लेख्य रुपमा घटेको हो। सार्वजनिक विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७.७२ प्रतिशत घटेको छ।

कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशत घटेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ पुगेको रिपोर्टमा उल्लेख छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ९०.४० प्रतिशत घटेको छ।

नाफा मात्रै होईने, बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ५६ पैसा घटेर २ रुपैयाँ ३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८५.११ गुणा रहेको छ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक छ। १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट