भारतमा अध्ययनरत एक नेपाली छात्राको शंकास्पद मृत्यु, कारण प्रेम की दुर्व्यवहार ?

काठमाडौँ– भारतको ओडिसास्थित भुवनेश्वरमा रहको स्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ।
बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी छन्। कलेजले उनी मृत भेटिएलगत्तै प्रहरीलाई खबर गरिएको थियो। उनले आत्महत्या गरेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
द न्यू इण्डियन एक्सप्रेसले लेखेको छ– ‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ। त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ ।’
तर, ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुव्र्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ। यही बीचमा सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड भाइरल भएको छ, जसमा उनलाई एक जना व्यक्तिले दुव्र्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ।
‘उनले आफूलाई जोगाउन खोजेकी थिइन्, केही महिना पहिले उनी सहयोग माग्दै कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई भेट्न पनि पुगेकी थिइन्’, थ्रेडमा भनिएको छ, ‘उनले त्यहाँ दुव्र्यवहारबारे खबर गरेकी थिइन्, मानसिक दुव्र्यवहार र सहन नसकिने दुःखहरुबारे ।’
तर, कलेजले केही नगरेका कारणले यस्तो घटना भएको त्यसमा उल्लेख गरिएको छ। लम्सालको शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ। यो घटनापछि कलेजमा पढिरहेका नेपाली विद्यार्थीहरुसँग प्रशासनले छलफल गरेको छ। र, उनीहरुलाई परिस्थिति सामान्य नभएसम्म बिदा बस्न भनेको छ।