नेपाली छात्रा प्रकृति लम्साल मृत्यु प्रकरणमा जोडिएका युवक पक्राउ, नेपाली विद्यार्थीमाथि कलेजको दमन

काठमाडौँ– भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बीटेक तेस्रो वर्षमा पढिरहेकी नेपाली विद्यार्थी प्रकृति लम्साल (बुटवल) ले आत्महत्या गरेपछि त्यहाँको अवस्था भद्रगोल बनेको छ। प्रकृतिको ‘आत्महत्या’सँग जोडिएका एक युवा पक्राउ परे पनि स्थिति सामान्य बनेको छैन।
भारतीय मिडिया संवादका अनुसार प्रकृतिका प्रेमी भनिएका मेकानिकल इन्जिनियरिङ गरिरहेका अदभिक श्रीवास्तव पक्राउ परेका छन्। समाचारमा उल्लेख भएअनुसार पछिल्लो समय उनीहरुको ब्रेकअप भएको थियो। त्यसपछि ती युवाले प्रकृतिलाई धम्काएको एक अडिओ पनि सार्वजनिक भएको थियो। सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड पनि भाइरल भएको छ, जसमा प्रकृतिलाई एक व्यक्तिले दुव्र्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ।
‘उनले आफूलाई जोगाउन खोजेकी थिइन्, केही महिना पहिले उनी सहयोग माग्दै कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई भेट्न पनि पुगेकी थिइन्’, थ्रेडमा भनिएको छ, ‘उनले त्यहाँ दुव्र्यवहारबारे खबर गरेकी थिइन्, मानसिक दुव्र्यवहार र सहन नसकिने दुःखहरुबारे ।’
तर, कलेजले केही नगरेका कारणले यस्तो घटना भएको त्यसमा उल्लेख गरिएको छ। ‘एउटा जिन्दगी एक व्यक्तिको टक्सिसिटीले गरेर मात्र सकिएन, कलेजको लापरबाहीले पनि सकियो। अहिले जिम्मेवारी लिन छाडेर कलेजले घटनालाई ट्वीस्ट गर्न खोजिरहेको छ। सत्यलाई छोपेर आफ्नो साख मात्र जोगाउन खोजिरहेको छ।’– थ्रेडमा भनिएको छ।
श्रीवास्तवले धम्क्याएको विषयमा प्रकृतिले केआइआइटीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा उजुरी पनि दिएकी थिईन। तर कुनै सुनुवाइ नभएको अन्य नेपाली विद्यार्थीहरूले गुनासो गरेका छन्। त्यसपछि नेपाली विद्यार्थीले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए।
फलस्वरुप केआइआइटीले नेपाली विद्यार्थीलाई निस्कन उर्दी जारी गरेको भिडिओ सार्वजनिक भएको छ। नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले दमनको शैली अपनाएको छ। ‘घटनाबारे छानबिन गर्न माग गर्दै प्रदर्शन भएको थियो। प्रशासनले त्यसलाई दबाउन हामीलाई कलेजबाट निकाल्यो।’–कलेजबाट निकालिएका एक विद्यार्थीले भने।
उनका अनुसार, कलेजमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययतरत थिए। उनका अनुसार प्रकृति आइतबार कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेकी थिईन।