प्रकृति लम्साल मृत्यु प्रकरण छानविन गर्न ओडिसा प्रदेश सरकारले बनायो उच्चस्तरीय समिति

काठमाडौँ– भारतको ओडिसा राज्य स्थित एक कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जना भएको परिस्थिती छानिबन गर्न ओडिसा सरकारले उच्चस्तरीय समिति बनाएको छ।
कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत लम्साल आईतबार होस्टलमै मृत फेला परेकी थिईन। ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै घट्ना छानबिन गर्न समिति गठन गरिएको उल्लेख गरेको छ।
समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने जनाईएको छ। ‘कलेजमा प्रर्दशन गरिएका विद्यार्थीमाथि बल प्रयोग र दुव्र्यवहारका घटनाहरु बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको छ र कानुन अनुसार कारबाही पनि हुनेछ।’–विभागका निर्देशकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसबारे कलेजलाई पनि जानकारी गराइएको छ र उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिनेछ जनाईएको छ। प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। उनले आफूमाथि सोही कलेजको बि–टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएको पाईएको छ।
तर, कलेजले गम्भीरता देखाएको थिएन। घट्नापछि प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई युनिभर्सिटी प्रशासनले उल्टै दमन गरेको थियो। कलेजका सुरक्षागार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भए।