चीनियाँ नागरिकसँग यौन र प्रेम सम्बन्ध राख्न अमेरिकी कर्मचारीलाई प्रतिबन्ध, यस्तो छ कारण

काठमाडौँ– अमेरिकी सरकारले आफना कर्मचारी र अन्य सम्वन्धित नागरिकलाई चीनियाँ नागरिकसँग यौन र प्रेमसम्वन्ध राख्न प्रतिवन्ध लगाएको छ। चीनस्थित आफ्ना सरकारी कर्मचारी, तिनका परिवार र गोप्य सूचनामा पहुँच राख्ने ठेकेदारहरूलाई लक्षित गरेर अमेरिकाले यस्तो प्रतिबन्ध लगाएको हो।
यो प्रतिबन्ध बेइजिङस्थित दूतावास, क्वाङचौ, साङ्हाई, सेन्याङ, वुहान र हङकङका वाणिज्यदूतावासका कर्मचारीमा लागू गरिएको छ। यदि ती कर्मचारीको चिनियाँ नागरिकसँग यसअघि नै सम्बन्ध छ भने उनीहरूले छुटका लागि निवेदन दिनुपर्ने जनाईएको छ।
सरकारले उनीहरूलाई छुट दिएन भने कि त सम्बन्ध अन्त्य गर्नुपर्ने हुन्छ, कि त पद। नियम उल्लंघन गरे चीनबाट फिर्ता बोलाईने छ। यो नीति निवर्तमान राजदूत निकोलस बन्र्सले पदबाट बिदा हुनुअघि जनवरीमा लागू गराएका थिए।
एसोसियट प्रेसले जनाएअनृुसार केही निकाय बाहेक अमेरिकी कूटनीतिज्ञहरूले अन्य मुलुकका स्थानीयसँग डेटिङ तथा विवाह गर्नु सामान्य थियो। तर, यसरी व्यापक रुपमा यसरी प्रतिवन्ध लगाईएको घटना शीतयुद्धपछि पहिलोपटक हो।
शीतयुद्धमा मुलुकहरूले एकअर्काको देशको सूचना हात पार्न आकर्षक पुरुष तथा महिलाको प्रयोग गर्ने गर्थे। पछि सार्वजनिक गरिएका गुप्त दस्ताबेजहरूका अुनसार १९८७ मा अमेरिकाले सोभियत गुटमा रहेका मुलुक र चीनस्थित आफ्ना कर्मचारीलाई स्थानीयसँग मित्रता गाँस्न, डेटिङ गर्न र यौन सम्बन्धमा प्रतिबन्ध लगाएको थियो।
गतवर्ष अमेरिकाले चीनस्थित दूतावास र पाँच महावाणिज्यदूतावासमा गार्ड तथा सहयोगीका रुपमा कार्यरत चिनियाँसँग त्यस्तो सम्बन्ध राख्न नपाउने नियम लागू गरेको थियो। तर, राजदूत बर्नसले त्यो प्रतिबन्ध सम्पूर्ण चिनियाँ नागरिकमा लागू गरेका हुन्।