पाकिस्तानी अभिनेत्री हुमैरा असगर कराँचीस्थित आफ्नै फ्ल्याटमा मृत फेला

राजधानी — पाकिस्तानी मोडेल तथा अभिनेत्री हुमैरा असगर अली कराँची सहरस्थित आफ्नै फ्ल्याटमा मृत अवस्थामा फेला परेकी छिन्। प्रहरीले पुष्टि गरेअनुसार उनी डिफेन्स हाउसिङ अथोरिटी क्षेत्रभित्र रहेको फ्ल्याटमा मंगलबार राति मृत भेटिएकी हुन्।
एसएसपी साउथ मेहरोज अलीका अनुसार हुमैरा अली लाहोरकी स्थायी बासिन्दा थिइन् र सन् २०१८ देखि कराँचीको इत्तेहाद कमर्सियल एरियास्थित चौथो तलाको फ्ल्याटमा बस्दै आएकी थिइन्। उनी सन् २०२४ देखि फ्ल्याटको भाडा नतिरेको कारण घरधनीले अदालतमा मुद्दा दायर गरेका थिए।
अदालतको आदेशमा मंगलबार राति घरधनी प्रहरी र अदालतका बेलिफ (सामान जफत गर्ने अधिकारी) सँग मिलेर फ्ल्याटमा पुगेका थिए। ढोका भित्रबाट बन्द देखिएपछि फलाम र काठको ढोका तोडेर प्रवेश गर्दा हुमैरा अलीको शव भुइँमा लडिरहेको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार शव निकै पुरानो अवस्थामा रहेकोले मृत्यु धेरै दिनअघि भएको अनुमान गरिएको छ।
हालसम्म मृत्युको कारण खुल्न बाँकी रहेको बताइएको छ। कराँचीकी प्रहरी सर्जन डा. सुमैयाले पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने जानकारी दिएकी छन्।
आश्चर्यको कुरा के हो भने, अभिनेत्रीका परिवारजनले उनको शव लिन अस्वीकार गरेका छन्। यस घटनाले पाकिस्तानको मनोरञ्जन क्षेत्रमा एक पटक फेरि चिसो छायाँ पारेको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।