भारतीय प्रहरीले १० लाख टाउकोको मुल्य तोकेका ब्यक्ति नेपालबाट पक्राउ

काठमाडौँ– भारतीय प्रहरीले १० लाख रुपैयाँ भारु टाउकाको मुल्य तोकेका ब्यक्ति नेपालबाट पक्राउ परेका छन्। पक्राउ पर्ने ब्यक्ति पञ्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग राख्दै पृथकवादी गतिविधि गर्दै आएको समूहको एक महत्वपूर्ण सदस्य भएको जनाईएको छ।
नेपालमा लुक्दै आएका भनिएका बलवीर सिंह भनिने कश्मिर सिंहलाई पक्राउ गरिएको हो। उनी २७ नोभेम्बर २०१६ को नाभा जेल ब्रेक काण्डमा जोडिएका व्यक्ति हुन्। पटियालास्थित नाभा जेलमा भएको आक्रमणमा ६ जना आतंकवादी र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू फरार भएका थिए।
रमनजीत सिंह (रोमी)को मुख्य योजनामा भएको आक्रमणमा बलवीर सिंहसहित खालिस्तानी लिबरेशन फोर्सका प्रमुख हरमिन्दर सिंह मिंटू लगायतका व्यक्तिहरू जेलबाट भागेका थिए। पछि अनुसन्धानका क्रममा जेलमा रहेका कुख्यात अपराधी गुरुप्रित सिंहको योजनामा जेल ब्रेक गराइएको खुलेको थियो।
खाना बाँड्ने बहानामा जेल नजिक पुगेका व्यक्तिहरूले त्यहाँ हमला गरेर सबैलाई भगाएका थिए। एनआईएले सिंह पञ्जाबको मोहालीमा रहेको इन्टेलिजेन्स कार्यालयमा भएको रकेट आक्रमणमा समेत संलग्न रहेको जनाएको छ।
त्यसपछि उनको बारे सूचना दिनेलाई भारतीय प्रहरीले १० लाख रुपैयाँ इनामको घोषणा गरेको थियो। यसैबीच उनलाई मोतिहारीको नगर थाना क्षेत्रको मोतिझिलबाट पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ। भारतको राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले मोतिहार प्रहरीसँग चलाएको संयुक्त अपरेशनका क्रममा बलवीर पक्राउ परेको जनाईएको छ।
तर, कतिपय सुरक्षा अधिकृतले भने सिंहलाई नेपालबाट पक्राउ गरेर लगिएको दाबी गरेका छन्। सिंहको खोजीका लागि भारतीय सुरक्षा अधिकृतहरूले यसअघि नेपाल प्रहरीसँग समन्वय गरेको स्रोतको भनाइ छ। यसैक्रममा
खालितस्तानको लिबरेसन फोर्ससँगै अन्तर्राष्ट्रिय शिख युथ फेडरेसनसँग जोडिएका उनले अपराधिक गतिविधिमा संलग्न अरुलाई समेत नेपालमा सेल्टर दिने गरेको आरोप छ। भारतीय प्रहरीले दाबी गरे अनुसार उनले नेपाली नागरिकता समेत लिइसकेका छन्।
उनलाई पक्राउ गरेर भारतमा सार्वजनिक गरिएपछि प्रहरी प्रधान कार्यालयको एउटा टोलीले त्यसबारे अध्ययन समेत गरिरहेको छ। नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले भने सिंहलाई नेपालबाट पक्राउ गरिएकोबारे जानकारी नभएको बताएका छन्।